एजेन्सी । रोबर्टो लेवान्डोस्की, अर्थात् पोल्याण्डका मुख्य हतियार । जर्मन बुन्डेस लिगा च्याम्पियन वायर्न म्युनिखका स्ट्राइकर लेवान्डोस्की निकै लयमा छन् ।
वायर्नलाई च्याम्पियन बनाउदा होस् या पोल्याण्डलाई विश्वकपमा छनोट गराउदा । दुवैमा कप्तान लेवान्डोस्कीको उत्कृष्ट प्रदर्शन र गोल ।
सेनेगल, सवैले सम्झने गर्छन् - सन् २००२ को विश्वकप । पहिलो खेलमा साबिकको बिजेता फ्रान्सलाई हराउन सफल । पहिलो सहभागितामै क्वाटरफाइनलसम्मको यात्रा ।
र, आज राति भिड्दै छन्, लेवान्डोस्कीको पोल्याण्ड र दक्षिण अफ्रिकी राष्ट्र सेनेगल । दुवै एक अर्कामा अपरिचित टोली । त्यसैले सबैको नजर हुनेछ, मस्कोको स्पार्टक स्टेडियममा ।
स्पार्टक स्टेडियम टेक्दै गर्दा युरोपियन राष्ट्र पोल्याण्ड कप्तान लेवान्डोस्कीको प्रेरणामा हुनेछन् । जसले पोल्याण्डलाई चाहिएको बेला गोल गर्न सक्छन । टिमलाई जिताउन सक्छन् । उनले राष्ट्रिय टोलीबाट ९५ खेलमा ५५ गोल गरिसकेका छन् । त्यसैले सेनेगलविरुद्ध लेवान्डोस्कीलाई मुख्य हतियार बनाएर पोल्याण्ड अघि बढ्न चाहन्छ ।
फिफा वरियतामा शीर्ष १० भित्र रहेको पोल्याण्डले यो आठौं विश्वकप हुनेछ । तर, पोल्याण्डको विश्वकप यात्रा गर्विलो भने छैन । दुई पटक तेस्रो भएको पोल्याण्ड १२ बर्षपछि विश्वकप खेल्दैछ ।
पोल्याण्डले पछिल्लो पटक सन् २००६ को विश्वकप खेलेको थियो । जसमा समूह चरण पार गर्न सकेको थिएन । अहिले निकै लयमा रहेको पोल्याण्डको लक्ष्य उच्च हुनेछ । इतिहासमा पोल्याण्डले विश्वकपमा अहिलेसम्म दक्षिण अफ्रिकी राष्ट्रसँग हार बेहोर्नु परेको छैन ।
यता, दक्षिण अफ्रिकी राष्ट्र सेनेगल दोस्रो पटक विश्वकप खेल्दैछ । सेनेगलको लक्ष्य हुनेछ, सन् २००२ को विश्वकपको इतिहास दोहोर्राउन । सेनेगलले पहिलो पटक सन् २००२ को विश्वकप खेलेको थियो । जसमा, सेनेगलले सनसनी मच्चाएको थियो ।
पहिलो खेलमै फ्रान्सलाई हराएको सेनेगलले अन्तिम १६ मा स्वीडेनलाई स्तब्ध बनाएको थियो । क्वाटरफाइनलमा टर्कीसँग पराजित भएको सेनेगलले समूह चरणमा डेनमार्क, उरुग्वे जस्ता राष्ट्रसँग बराबरी खेलेको थियो ।
रुस यात्रा गर्दा सेनेगलको उदेश्य विश्वकपको गर्विलो इतिहासलाई कायम राख्नु हुनेछ । सेनेगलको मुख्य खेलाडी हुनेछन् - साडियो माने । युरोपियन क्लबमा जमेका साने सेनेगलको चिनिएका अनुहार हुन् । तर, सेनेगलसँग मानेसँगै युरोपियन लिगमा पकड जमाएका खेलाडीको बाहुल्यता छ । त्यसैले युरोपियन राष्ट्रले बनाउने रणनीतिमा सेनेगलका खेलाडी अभ्यस्त हुनेछन् ।