काठमाडौं । सायद लाग्छ, अब भारतीय क्रिकेट टिमले जित्न पनि बिर्सेको छ । नत्र अहिले चलिरहेको ट्वान्टी ट्वान्टी विश्वकपमा भारतको प्रदर्शन यति खराब रहने थिएन् ।
अब त भारतीय टिमलाई लिएर धेरैले प्रतिक्रिया दिन थालेका छन्, विचरा भारत । आइतबार मात्रै भारत न्युजिल्यान्डको हातबाट आठ विकेटले पराजित रह्यो ।
यसअघि विराट कोहलीको टिम पाकिस्तानविरुद्ध १० विकेटले पराजित रहेको थियो । लगातार दुई खेल गुमाएपछि भारतको सेमिफाइनल पुग्ने समीकरण निकै कमजोर भएको छ ।
भारतले अबका तीन खेल जित्ने हो भने त्यो सेमिफाइनल पुग्न पर्याप्त नहुन सक्छ । खासमा भारतको भाग्य अब उसको हातमा रहेन्, अन्यकै नियन्त्रणमा गइसकेको छ ।
अझ खासमा भन्दा भारतीय टिमको प्रदर्शन यसपल्ट धेरै अर्थमा खराब रहेको छ । जस्तो, २२ वर्षयता पहिलो पल्ट आईसीसीले आयोजना गर्ने कुनै पनि विश्वकपमा भारतले पहिलो पल्ट लगातार सुरुआती दुई खेल गुमाएको छ । सन् १९९९ को विश्वकपमा भारतको प्रदर्शन यति खराब थियो, जति बेला टिमको कप्तान थिए, मोहम्मद अजहरुद्दिन ।
त्यति बेला भारत दक्षिण अफ्रिका र जिम्बावेविरुद्धको खेलमा पराजित रहेको थियो । सन् २००७, २००९ र २०१० का वान डे र ट्वान्टी ट्वान्टी विश्वकपमा भारत लिग चरणबाटै बाहिरिएको थियो, तर सुरुआती दुई खेल गुमाएको थिएन् । फेरि यसै पल्ट त हो, भारत पहिलो पल्ट पाकिस्तानविरुद्धको विश्वकप खेलमा पराजित रहेको ।
निचोडमा भन्दा अहिले तत्काल भारतीय क्रिकेट टिमका लागि केही पनि राम्रो भइरहेको छैन् ।
–इन्डियन एक्सप्रेसको सहयोगमा ।