काठमाडौं । नवनियुक्त युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले खेलकुदको राम्रो काम गर्ने बिषयमा राजनीति नगर्न आग्रह गरेका छन् ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) ले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै मन्त्री गहतराजले काम गर्ने कुरामा राजनीति नगर्न आग्रह गरेका हुन् ।
'राम्रो काम गर्नका लागि के के सोच्नु भएको छ हार्दिकता साथ मसँग छलफल गरे हुन्छ । तर, सबै साथीहरुलाई काम गर्ने कुरामा राजनीति गर्ने हैन । राजनीति चुनावमा गर्ने हो । चुनावमा राजनीति गरौ,' मन्त्री गहतराजले भने, 'हाम्रो देशमा धेरै राजनीति भयो । त्यसैले संस्थालाई मजबुद बनाउन र हाम्रो क्षेत्रलाई निराश नहुनु पर्ने आधार पैदा गरौँ ।'
खेलकुद मन्त्री गहतराजले आफुले खेलकुदका सबैलाई हित हुने काम मात्र गर्ने समेत बताए ।
'म सँग राम्रा र नराम्रा कुरा सुन्न सक्ने स्वभाव छ । र, राम्रो कुरालाई लागु गर्छु । नराम्रो कुरालाई लागु गर्दिन । सबैलाई हित हुने कुरा लागु गर्छु । सिमित मानिसलाई हित हुने कुरा लागु गर्दिन,' मन्त्री गहतराजले भने ।
मन्त्री गहतराजले खेलकुदमा नयाँ काम गर्नका लागि प्रतिबद्दता समेत व्यक्त गरे ।
'सबैलाई केहि नयाँ काम गरोस भन्ने अपेक्षा छ । र, यो कार्यक्रमको सन्दर्भमा त्यो अपेक्षा पूरा गर्ने संकल्प र प्रतिबद्दता गर्दछु,' मन्त्री गहतराजले थपे, 'यहाँ धेरै समस्याहरु छन् र त्यसलाई हल गर्नु छ । जतिबेला ती समस्या हल गर्न सकिदैन त्यतिबेला नयाँ काम अघि बढाउन सकिदैन । त्यसैले केहि न केहि नयाँ सुरुआत गर्नु पर्छ ।'
खेल क्षेत्रबाट विश्वमा नयाँ ढङ्गले पहिचान गराउनेबारे मन्त्रालय गृहकार्यमा लागिसकेको समेत मन्त्री गहतराजले बताए ।
'खेल क्षेत्रबाट नेपाललाई कसरि विश्वसामु हामीले नयाँ ढङ्गले पहिचान गराउने र आम नेपालीले खेललाई आफ्नो जीवन पद्दति बनाउने आधार कसरि बनाउने, खेलाडीहरुले जीवनको अन्तिमसम्म पनि खेलप्रतिको लगाब पैदा गरिराख्न सक्ने आधार बनाउने विषयमा मन्त्रालय आवश्यक गृहकार्यमा लागिरहेको छ,' मन्त्री गहतराजले भने ।
मन्त्री गहतराजले खेलकुदमा देखिएका बिगतका विकृति र विसंगतिहरु कसरि सच्चाउन सक्छौं र नयाँ कामको सुरुआत गर्न सक्छौं भनेर छलफल गर्न आफु तयार रहेको समेत बताए ।
मन्त्री गहतराजले खेलकुदका कामहरु ऐन अनुसार गर्न निर्देशन दिदै खेलकुद बिकासका लागि आफ्नो अनुकुल गर्न ऐनलाई परिमार्जन गर्न सकिने समेत बताए ।