काठमाडौं । नेपाल ओलम्पियन्स संघको अध्यक्षमा दीपक विष्ट निर्वाचित भएका छन् ।
नयाँ कार्यसमितिका लागि बुधबार भएको निर्वाचनबाट तेक्वान्दोका कीर्तिमानी पूर्व खेलाडी विष्ट निर्वाचित भएका हुन् ।
अध्यक्षका प्रत्यासी एनओसीका पूर्व उपाध्यक्ष समेत रहेका रबी राज थापालाई पछि पार्दै विष्ट अध्यक्ष चुनिएका हुन् ।
सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटी (एनओसी) को भवनमा भएको निर्वाचनमा विष्टले ४१ भोट प्राप्त गरे । थापाले मात्र ४ भोट पाएका थिए ।
कुल ४९ भोटमा ४७ भोट सदर भएको थियो ।
यस्तै संघको उपाध्यक्षमा प्रविण तुलाधर ४६ भोटसहित निर्वाचित हुँदा महिला उपाध्यक्षमा संगिना वैद्य निर्विरोध भईन् ।
महासचिवमा राजेन्द्र भण्डारी, सचिवमा देवु थापा र कोषाध्यक्षमा स्नेहा राणा निर्विरोध चयन भए ।
सदस्यमा राजकुमारी पाण्डे, विमला रानामगर, कान्छी माया कोजु, प्रमिला रिजाल, मुकुन्द हरि श्रेष्ठ, विष्णुबहादुर सिंह, टीकाराम श्रेष्ठ, सफल राम श्रेष्ठ र रन्जन श्रेष्ठ निर्वाचित भए ।