काठमाडौं । नेपाल ओलम्पियन्स संघको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ ।
नेपाली ओलम्पियन खेलाडीहरुको संस्था ओलम्पियन्स संघको निर्वाचन सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटी (एनओसी) को भवनमा हुनेछ ।
निर्वाचनले १५ सदस्सीय कार्यसमिति चयन गर्नेछ ।
अध्यक्ष पदका लागि कीर्तिमानी पूर्व तेक्वान्दो खेलाडी दीपक विष्ट र एनओसीका पूर्व उपाध्यक्ष समेत रहेका रबी राज थापाबीच प्रतिस्पर्धा हुनेछ ।
संघको महिला उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष भने निर्विरोध चयन भईसकेका छन् ।
महिला उपाध्यक्षमा संगिना वैद्य, महासचिवमा राजेन्द्र भण्डारी, सचिवमा देवु थापा र कोषाध्यक्षमा स्नेहा राणा निर्विरोध चयन भएका हुन् ।
अर्को एक उपाध्यक्षका लागि प्रविण तुलाधर र रघुराज वन्त चुनाबी प्रतिस्पर्धामा छन् ।
त्यस्तै सदस्यका लागि १० जनाको उम्मेदवारी परेको छ ।
राजकुमारी पाण्डे, विमला रानामगर, कान्छी माया कोजु, प्रमिला रिजाल, मुकुन्द हरि श्रेष्ठ, विष्णुबहादुर सिंह, टीकाराम श्रेष्ठ, कमल बहादुर अधिकारी, सफल राम श्रेष्ठ र रन्जन श्रेष्ठको उम्मेदवारी रहेको छ ।