काठमाडौं । विराटनगर वारिवर्सले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगिताका लागि मनोज कटवाललाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
विराटनगरले बिहीबार कटवाललाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।
नेपाल पुलिस क्लबका प्रशिक्षक रहेका कटवालले यस अघि पोखरा प्रिमियर लिग (पिपिएल) को फ्रेन्चाईच टिम चितवन राइनोजको मुख्य प्रशिक्षक भएर काम गरिसकेका छन् । उनले टोलीलाई दोस्रो संस्करणको उपाधि समेत दिलाएका थिए ।
नेपाली राष्ट्रिय टोलीका पूर्व खेलाडी कटवालले राष्ट्रिय टिमको सहायक प्रशिक्षक भएर काम गरिसकेका छन्।
चौंथो संस्करणको ईपीएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ।
प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन्।
प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) र नेपाल क्रिकेट संघ (क्यान) ले मान्यता दिईसकेको छ।
प्रतियोगितामा साविक विजेता ललितपुर प्याट्रीयट्ससंगै भैरहवा ग्ल्याडियटर्स, काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स र विराटनगर वारिवर्सले प्रतिस्पर्धा गर्ने छन्।