काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले पर्याप्त रन बनाउन नसक्दा ओमानसँग पराजित भएको बताएका छन् ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजको दोस्रो खेलमा मंगलबार नेपाल ओमानसँग ५ विकेटले पराजित भएको थियो ।
घरेलु टिमसँगको हारपछि बोल्दै कप्तान मल्लले पराजयको कारण कम रन बनाउनु भएको बताए ।
'सबैभन्दा पहिले भन्नु पर्दा रन पुगेन । यद्दपी हामीले दोस्रो बलमै विकेट गुमाए पनि राम्रो भएको थियो । दुई विकेटको लागि राम्रो साझेदारी गरेको थियौं,' कप्तान मल्लले भने, 'तर, त्यसपछिको साझेदारी ठूलो हुन सकेन । जसले गर्दा हामीले चाहे जस्तो २ सय ४० भन्दा माथिको रन बनाउन सकेनौं ।'
अल अमिरात क्रिकेट मैदानमा नेपालले दिएको १ सय ९७ रनको लक्ष्य ओमानले ३१ ओभर १ बलमा मात्र ५ विकेट गुमाएर पूरा गरेको थियो ।
ओमानको जितमा जतिन्दर सिंहले १ सय ७ रनको शतकीय इनिङ्स खेलेका थिए । विस्फोटक ब्याटिङ गरेका उनले ६२ बलमा ६ छक्का र १२ चौका प्रहार गरे । उनले पाँचौ ओभरमा सोमपाल कामीविरुद्ध एकै ओभरमा ३ चौका र ३ छक्का प्रहार गर्दै ३० रन जोडेका थिए।
कप्तान मल्लले जतिन्दरको उत्कृष्ट ब्याटिङ पनि नेपालको हारको कारण भएको बताए।
'हामीलाई जित्ने मौका थियो । तर, जसरि जतिन्दर आएर ब्याटिङ गर्यो । श्रेय उसैलाई दिनुपर्छ,' कप्तान मल्लले भने, 'आज जतिन्दर एक जनाले खेल नै हाम्रो हातबाट लिएर गयो जस्तो लाग्छ ।'
कप्तान मल्लले ओमानविरुद्ध २ सय ४० बढी रन बनाउन सकेको भए खेल फरक बन्ने समेत बताए ।
'अमेरिकासँगको प्रदर्शन पछि टिमको मनोबल उच्च थियो । राम्रो साझेदारी भयो भने सकिन्छ भन्ने थियो । त्यहिँ हो विकेट राम्रो छ, रन पर्याप्त भएन । हामीले २४० बढी रङ बनाएको भए खेल फरक पर्थ्यो होला,' उनले भने ।
अब नेपालले शुक्रबार अमेरिकासँग दोस्रो खेल खेल्नेछ। त्यस्तै ओमानसँग आगामी आइतबार खेल्नेछ ।
लिग-२ को अंक तालिकामा नेपाल छैटौं स्थानमा रहेको छ। नेपालले ६ खेलमा ६ अंक जोडेको छ।
ओमान ११ खेलमा १८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। अमेरिका १२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ।