काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले पहिलो खेलमा अहिले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ ।
ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपालले अमेरिकाविरुद्ध सुरुवातमा बलिङ गर्ने भएको छ ।
अमेरिकाले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपालले बलिङ गर्ने भएको हो ।
आज नेपाल अमेरिकालाई हराएर सुखद सुरुवात गर्ने योजनामा रहेको छ । अमेरिका पनि नेपाललाई हराउन चाहन्छ ।
लिग–२ अन्तर्गत नै नेपालले यस अघि घरेलु मैदानमा अमेरिकासँग दुई खेल खेलेको थियो। नेपालले दुबै खेल जितेको थियो।
सन् २०२० को फेब्रुअरी १२ मा टियु क्रिकेट मैदानमा नेपालले पहिलो खेलमा अमेरिकालाई ८ विकेटले हराएको थियो।
अमेरिकाले दिएको ३६ रनको लक्ष्य नेपालले ५ ओभर २ बलमा २ विकेट गुमाएर पूरा गरेको थियो।
त्यसअघि फेब्रुअरी ८ मा भएको खेलमा नेपालले अमेरिकालाई ३५ रनले हराएको थियो। नेपालले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याएको अमेरिका ४४ ओभर १ बलमा अलआउट हुँदै १ सय ५५ रनमा समेटिएको थियो।
लिग-२ को अंक तालिका :
यस अघि लिग–२ अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग ४ खेल खेलिसकेको छ ।
लिगमा नेपालले ४ खेलमा ४ अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ ।
ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ ।