काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले अमेरिकाविरुद्धको पहिलो खेल कठिन हुने बताएका छन् ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि ओमानमा रहेका कप्तान मल्लले अमेरिकाविरुद्धको खेल कठिन हुने बताएका हुन्।
'अमेरिका राम्रो छ । चार नयाँ खेलाडी छन् । उनीहरुले पीएनजीसँग राम्रो खेलेको थियो । सजिलो हुन्छ जस्तो लाग्दैन । खेल कठिन हुन्छ जस्तो लाग्छ,' कप्तान मल्लले आइतबार भने, 'तालिकामा दोस्रो स्थानमा समेत रहेको छ । यो अवस्थामा केहि फरक पर्छ जस्तो लाग्छ ।'
लिग–२ अन्तर्गतको नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक सिरिज भोलि सोमबारबाट सुरु हुँदैछ। नेपालले भोलि अमेरिकासँग खेल्दै सिरिजको सुरुवात गर्नेछ । अल अमिरात क्रिकेट मैदानमा नेपाल र अमेरिकाबीचको खेल दिउँसो ४:१५ बजे सुरु हुनेछ।
अमेरिकाविरुद्ध मैदान उत्रदा नेपाल सुखद सुरुवात गर्ने योजनामा हुनेछ । लिग–२ अन्तर्गत नै नेपालले घरेलु मैदानमा अमेरिकासँग दुई खेल खेलेको थियो। जसमा नेपालले दुबै खेल जितेको थियो।
तर, कप्तान मल्लले ओमानको अवस्था फरक भएको कारण विगतको भन्दा खेल फरक हुने बताए ।
'व्यवसायिक खेलाडी भईसकेपछि विगत भन्दा वर्तमान र भविष्यलाई हेर्नु पर्छ जस्तो लाग्छ । उनीहरु अघिल्लो पटकको भन्दा उच्च मनोबल बनाएको आएको हुनसक्छ । नेपाल र यहाँको अवस्था फरक छ । त्यसैले निकै प्रतिस्पर्धा हुनेछ,' उनले भने ।
सन् २०२० को फेब्रुअरी १२ मा टियु क्रिकेट मैदानमा नेपालले अमेरिकासँग पछिल्लो पटक प्रतिस्पर्धा गरेको थियो। त्यस खेलमा नेपालले अमेरिकालाई ८ विकेटले हराएको थियो।
त्यसअघि फेब्रुअरी ८ मा भएको खेलमा नेपालले अमेरिकालाई ३५ रनले हराएको थियो।
मल्लले अमेरिकाको मिडियम पेस बलिङलाई रोक्न सकेमा जित्न सजिलो हुने समेत बताए ।
'अमेरिकाको मिडियम पेस अट्याक राम्रो छ । ब्याटिङ पनि राम्रो छ । हाम्रो स्पिन अट्याक हुन्छ उनीहरुको मिडिल पेस ट्याकल गर्न सक्यौ भने हामीलाई सजिलो हुन्छ,' कप्तान मल्ल भन्छन् ।
टिमका उपकप्तान दिपेन्द्र सिंह ऐरीले सिरिज गुमाउने छन् । जसको कारण नेपाल टोलीलाई थप समस्या पार्ने देखिएको छ ।
दाहिने खुट्टाको एन्कलमा लागेको चोटको कारण दिपेन्द्रले सिरिज गुमाउने भएका हुन् । अभ्यासको दौरान उनले चोट बोकेका थिए ।
'उपकप्तान, ब्याट्सम्यान र टिमको म्याच विनर पनि हो । हाम्रो लागि सेट ब्याक हो । तर, हामी एकदिवसीय अन्तराष्ट्रिय राष्ट्र हुने र यो भन्दा माथि जाने हो भने सबैले आफ्नो दायित्व लिएर अगाडी बढ्नु पर्छ,' कप्तान मल्लले थपे, 'नेपालमा खेलाडी रिप्लेसमेन्ट सबैभन्दा चुनौतीको विषय छ । हामीले खेलाडीलाई धकेलिरह्यौ भने हुन्छ । त्यसैले बेन्च प्लेयर बलियो हुनुपर्छ ।'