काठमाडौं । नेपालका उपकप्तान दिपेन्द्र सिंह ऐरीले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकाविरुद्धको त्रिकोणात्मक एकदिवसीय सिरिज गुमाउने भएका छन् ।
दाहिने खुट्टाको एन्कलमा लागेको चोटको कारण दिपेन्द्रले सिरिज गुमाउने भएका हुन् । अभ्यासको दौरान उनले चोट बोकेका थिए ।
नेपाल क्रिकेट संघ क्यानले दिपेन्द्रले सिरिज गुमाउने पुष्टि गरेको छ ।
क्यानका सचिव अशोकनाथ प्याकुरेलले दिपेन्द्र दुई साता मैदान बाहिर रहने जानकरी गराए ।
'टिमको फिजियोले दिपेन्द्र खेल्न सक्ने अवस्था नरहेको हामीलाई खबर गरेको छ । उनले करिब दुई हप्ता आराम गर्नु पर्नेछ,' क्यानका सचिव अशोकनाथ प्याकुरेलले भने, 'उनको स्थानमा अन्य खेलाडी नेपालबाट जाने छैनन् ।'
चोटको कारण दिपेन्द्रले पपुवा न्युगिनी (पीएनजी) सँगको दुई एकदिवसीय अन्तराष्ट्रिय सिरिज गुमाएका थिए ।
सिरिज सोमबारबाट सुरु हुँदैछ ।
ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपालले सोमबार अमेरिकासँग खेल्दै सिरिजको सुरुवात गर्नेछ।
नेपाल र अमेरिकाबीचको खेल दिउँसो ४:१५ बजे सुरु हुनेछ।