काठमाडौं । बंगलादेशका ब्याट्सम्यान तमिम इकबालले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् ।
३२ वर्षीय इकबालले भैरहवा ग्ल्याडियटर्सबाट चौंथो संस्करणको ईपीएल खेल्ने भएका हुन्।
भैरहवाले शनिबार इकबाललाई चौंथो संस्करणको ईपीएलका लागि अनुबन्ध गरिएको जनाएको छ।
इकबाल भैरहवाले अनुबन्ध गरेको तेस्रो विदेशी खेलाडी हुन्।
यस अघि श्रीलंकाका बलर धम्मिका प्रसाद र श्रीलंकाका पूर्व ओपनर ब्याट्सम्यान उपुल थरंगालाई अनुबन्ध गरेको थियो ।
भैरहवाको मुख्य प्रशिक्षकमा पुबुदु दसानायके रहेका छन् ।
भैरहवाको कप्तानी शरद भेषवाकरले गर्ने छन्।
चौंथो संस्करणको ईपीएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ।
प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन् ।
प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) र नेपाल क्रिकेट संघ (क्यान) ले मान्यता दिईसकेको छ ।
साविक विजेता ललितपुर प्याट्रीयट्ससंगै भैरहवा ग्ल्याडियटर्स, काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स र विराटनगर वारिवर्सले प्रतिस्पर्धा गर्ने छन् ।
को हुन् तमिम ?
तमिम बंगलादेशका सर्वाधिक सफल ब्याट्सम्यान हुन् । उनले बंगलादेशका लागि ६४ टेस्ट, २ सय १९ एकदिवसीय अन्तराष्ट्रिय र ७८ टी-ट्वान्टी अन्तराष्ट्रिय खेल खेलेका छन् ।
उनी टेस्ट र एकदिवसीयमा बंगलादेशका लागि सर्वाधिक धेरै रन बनाउने खेलाडी हुन् । उनले टेस्टमा ९ शतक र ३१ अर्धशतकसहित कुल ४ हजार ७ सय ८८ रन बनाएका छन् ।
एकदिवसीय अन्तराष्ट्रियमा उनले १४ शतक र ५१ अर्धशतकसहित ७ हजार ६ सय ६६ रन बनाएका छन् ।
उनी २०२० को मार्चबाट एकदिवसीय टिमको कप्तानी गर्दै आईरहेका छन् । उनले टी-ट्वान्टी विश्वकप भने खेल्ने छैनन् । उनले विश्वकपबाट आफ्नो नाम फिर्ता लिएका छन् ।
टी-ट्वान्टीमा उनले बंगलादेशका लागि १ शतक र ७ अर्धशतकसहित १ हजार ७ सय ५७ रन बनाएका छन् । टी-ट्वान्टी अन्तराष्ट्रिय शतक बनाउने उनी एक्लो र पहिलो बंगलादेशी खेलाडी हुन् ।
यो पनि ....
ईपीएल : उद्घाटनमा ललितपुर र काठमाडौं भिड्ने