काठमाडौं । घरेलु टिम श्रीलंकाविरुद्धको पहिलो टी-ट्वान्टी अन्तराष्ट्रियमा दक्षिण अफ्रीकाले जित निकालेको छ ।
कोलम्बोमा शुक्रबार भएको खेलमा दक्षिण अफ्रीकाले श्रीलंकालाई २८ रनले हराएको हो ।
जितसँगै तीन खेलको सिरिजमा दक्षिण अफ्रीकाले १-० को अग्रता समेत बनाएको छ ।
दक्षिण अफ्रीकाले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३५ रन मात्र बनाउन सक्यो ।
श्रीलंकाका दिनेश चण्डीमालले अविजित रहदै ६६ रनको अर्धशतकीय इनिङ्स खेले ।
यस्तै चामिका करुनारत्नेले अविजित २२ रन जोड्दा कप्तान डासुन शनकाले १६ रन बनाए।
दक्षिण अफ्रीकाका केशव महाराज, ताब्रेज शाम्सी, एन्रिच नोर्किया, ड्वेन प्रिटोरियस र बियोन फोर्टाइनले एक एक विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रीकाले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो ।
दक्षिण अफ्रीकाका लागि एडिन मार्क्रमले ४८ रन जोड्दा रिजा हेन्ड्रिक्सले ३८ रन जोडे । क्विन्टन डी कक ३६ रनमा आउट भए । डेभिड मिल्लर २६ रनमा आउट भए ।
श्रीलंकाका वाविन्दु हसरंगाले दुई विकेट लिए । दुश्मन्था चामिरा, थिक्सना महेश र डसुन शनाकाले १/१ विकेट लिए ।