काठमाडौं । रोहितकुमार पौडेलको उत्कृष्ट ब्याटिङमा नेपालले दोस्रो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा पपुवा न्युगिनीलाई उच्च लक्ष्य प्रस्तुत गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पपुवा न्युगिनीलाई जितका लागि २ सय ३४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
नेपाल निर्धारित ५० ओभरमा ३ बल अगावै २ सय ३३ रनमा अल आउट भयो ।
पपुवा न्युगिनीविरुद्ध उत्कृष्ट ब्याटिङ प्रर्दशन गरेका रोहितले ८६ रन बनाए । रोहितले १ सय २३ बल खेल्दै २ चौका र ३ छक्का प्रहार गरे ।
रोहितलाई राम्रो साथ दिएका तल्लो क्रमका आक्रमक ब्याट्सम्यान करन केसीले ४२ रन बनाए । उनले २६ बलमा सो रन बनाएका हुन् । उनले २ चोका र ४ छक्का प्रहार गरे ।
पुछारका खेलाडी लगातार आउट भए । बिक्रम सोब १ रनमा पोविलिन फर्किदा सन्दीप लामिछाने र सुसन भारी अंक नखोली आउट भए ।
नेपालको सुरुवात समेत राम्रो रहेन ।
ओपनर कुशल भुर्तेल र आरिफ शेख समान ३ रनमा आउट भएपछि दबाबमा आएको नेपालको इनिङ्स कप्तान ज्ञानेन्द्र मल्लले उकासेका थिए । उनले ७० बलमा ३ चौका र २ छक्काको मदतले ४५ रन बनाएका थिए ।
बिनोद भण्डारी १७ रनमा रन आउट भए । कुशल मल्ल १ र सोमपाल कामी ११ रनमा पाेविलियन फर्किए ।
पपुवा न्युगिनीका चाड सोपारले सर्वाधिक तीन विकेट लिए । कबुआ मोरिया र नार्मन वनुआको नाममा दुई-दुई विकेट रह्यो ।
चाल्स अमिनीले एक विकेट आफ्नो नाममा लेखाए । सबैभन्दा किफायती मोरिया रहे । उनले १० ओभरमा १ मेडन सहित २६ रन खर्चिएर २ विकेट लिए ।
पहिलो खेलमा समेत हारतर्फ उन्मुख नेपाली टिमलाई रोहित र सोमपालले जोगाएका थिए । १ सय ३५ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले ८२ रन जोड्न ७ विकेट गुमाईसकेको थियो ।
पिचमा टिकेर खेलेका रोहितले ४१ रनको योगदान गर्दै नेपाललाई जित दिलाएका थिए । सोमपालले समेत २२ रनको योगदान गरेका थिए । आठौं विकेटका लागि दुवैले ५२ रनको महत्वपुर्ण साझेदारी गरेका थिए ।
दुई खेलको सिरिज अन्तर्गत नेपालले आज पीएनजीसँग दोस्रो खेल खेलेकाे हो ।
पहिलो खेलमा नेपालले २ विकेटको जित निकालेको थियो । दुई खेलको सिरिजमा नेपाल १-० ले अघि रहेको छ ।