काठमाडौं । भारतका पूर्व कप्तान महेन्द्र सिंह धोनी आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा टिमको मेन्टर नियुक्त भएका छन् ।
भारतीय क्रिकेटको सर्वोच्च निकाय बीसीसीआईले पूर्व कप्तान धोनीलाई टिमको मेन्टरमा नियुक्त गरिएको जनाएको छ ।
बीसीसीआईका सचिव जय शाहले कप्तान विराट कोहली, उपकप्तान रोहित शर्मा र प्रशिक्षक रवी शास्त्रीसँगको छलफलपछि उनलाई मेन्टर नियुक्त गरिएको बताए ।
युएई र ओमानमा संयुक्त रुपमा हुने आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट अक्टोबर १७ बाट नोभेम्बर १४ सम्म हुनेछ ।
बीसीसीआईले बुधबार विराट कोहलीको कप्तानीमा विश्वकप खेल्ने टिमको घोषणा गरिसकेको छ ।
भारतले विश्वकपको पहिलो खेलमै पाकिस्तानसँग खेल्नेछ ।
सुपर १२ को समूह २ मा रहेको भारतले पाकिस्तानसँग अक्टोबर २४ मा प्रतिस्पर्धा गर्नेछ ।
भारत र पाकिस्तानबीचको खेल दुबईमा हुनेछ ।