काठमाडौं । एथलेटिक्स खेलको विकास र विस्तारमा निरन्तर सहयोग पुर्याउने उदेश्यको साथ एथलेटिक्स परिवारको गठन भएको छ ।
राजन खत्रीको अध्यक्षतामा ९ सदस्यीय समितिको एथलेटिक्स परिवार गठन गरिएको हो । एथलेटिक्स परिवारले मंगलबार पत्रकार सम्मेलन गर्दै काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता गरेर संस्था गठन गरिएको जनाएको छ ।
एथलेटिक्स परिवारको उपाध्यक्षमा दिपक कुमार रञ्जित, सचिवमा मन्जु श्रेष्ठ र कोषाध्यक्षमा सुष्मा पाण्डे छन् । सदस्यमा राजकुमारी पाण्डे,सिताराम महतो, सुन्दर केशर कार्की, बुलाल महर्जन र आसराम गोठे रहेका छन् ।
सल्लाहकारमा मोहन नेपाल, सुशील नरसिंह राणा, सुनिल राजवंशी र सन्जिब तुलाधरलाई मनोनयन गरिएको परिवारले जनाएको छ ।
यस्तै परिवारले वार्षिक क्यालेन्डर समेत सार्वजनिक गरेको छ । परिवारले एथलेटिक्सको चार प्रतियोगिता गराउने क्यालेन्डरमा उल्लेख गरिएको छ ।
परिवारको पहिलो कार्यक्रम अन्तर्गत आगामी मंसिरमा काठमाडौंमा यू-१६ र २० को युथ एथलेटिक्स च्याम्पियनसिप आयोजना हुनेछ ।
माघमा नुवाकोटमा झिल्टुङ क्रसकन्ट्री दौड सहकार्यमा आयोजना हुनेछ । त्यस्तै काठमाडौंमा फागुनमा गोल्डेन एथलेटिक्स मिट र साउनमा खुल्ला क्रसकन्ट्री दौड आयोजना गरिने परिवारले जनाएको छ ।
वार्षिक क्यालेन्डरमा समावेश प्रतियोगिता सम्पन्न गर्न अनुमानित ४५ लाख लाग्ने परिवारले जनाएको छ ।
कार्यक्रममा बोल्दै सलाहकार सुशील नरसिंह राणाले प्रतियोगिताले खेलकुद संस्थालाई जीवन्त बनाउने भन्दै एथलेटिक्स परिवारलाई धेरै प्रतियोगिता आयोजना गर्न आग्रह गरे ।
रघु वन्तले यस परिवारको गठनले एथलेटिक्स खेलको विकासमा टेवा पुग्ने बताए ।