एजेन्सी । इंग्ल्यान्ड, जहाँ विश्वकै सर्वोकृष्ट फुटबल लिग इन्ग्लिश प्रिमियर लिग हुन्छ । प्रिमियर लिग खेल्ने विश्वका अधिकांस खेलाडीको चाहना हुन्छ । कतिले त्यो अवसर प्राप्त गर्छन्, कतिले पाउदैनन् ।
इन्ग्लिश प्रिमियर लिग विश्वका खेल प्रेमीहरुले सर्वाधिक रुचाएको लिग समेत हो । तर, विश्व फुटबलमा गर्विलो इतिहास बोकेको इंग्ल्यान्डले विश्वकप फुटबलमा भने आफुलाई साबित गर्न सकेको छैन । एक पटक विश्वकप जितेको इंग्ल्यान्डले आधुनिक फुटबलमा भने आफ्नो उच्च प्रदर्शन गरेको छैन ।
ग्यारेथ साउथगेटको टोली इंग्ल्यान्ड यो संस्करणमा गर्विलो इतिहास बनाउने लक्ष्यसहित रुस पुगेको छ । र, २१ औं संस्करणको विश्वकपको आफ्नो पहिलो खेलमा इंग्ल्यान्डले ट्युनिसियाविरुद्ध खेल्दैछ । भोल्बोग्राड स्टेडियममा मध्ये राति हुने खेलमा जित निकाल्दै इंग्ल्यान्ड बलियो उपस्थिति बनाउन चाहन्छ । 'मुख्य कुरा हामी जित निकाल्न चाहन्छौं,' इन्ग्लिश टोलीका डिफेन्डर हृयारी मागुरेले भनेका छन् ।
साउथगेटको टोली इंग्ल्यान्डसँग युवा र इन्ग्लिश प्रिमियर लिगमा अब्बल देखिएका खेलाडीको बाहुल्यता छ । तर, अभागी टोलीको नाममा परिचित इंग्ल्यान्डलाई गाह्रो भने पक्कैछ । किनकि ट्युनिसिया अघिल्ला विश्वकप बिर्साउने प्रदर्शनको तयारीमा रहने छ ।
विश्वकपमा इंग्ल्यान्डले ट्युनिसियासँग सन् १९९८ मा खेलेको थियो । जसमा इंग्ल्यान्ड २ – ० ले विजयी भएको थियो । इंग्ल्यान्डको जितमा कप्तान एलान शेरर र पाउल स्कोल्सले गोल गरेका थिए । संयोग, रुस विश्वकपमा इंग्ल्यान्डका मुख्य प्रशिक्षण रहेका साउथगेटले उक्त खेलबाट विश्वकपमा डेब्यु गरेका थिए ।
सन् १९५० को विश्वकपबाट आफ्नो यात्रा थालेको इंग्ल्यान्डले सन् १९६६ मा विश्वकप जितेको थियो । त्यसपछि भने इंग्ल्यान्डले फाइनल यात्रा टी गर्न सकेको छैन । सधै राम्रो खेलाडीको साथ रहने इंग्ल्यान्ड विश्वकपमा ६ पटक क्वाटरफाइनल र १ पटक सेमिफाइनलमा पराजित भएको इतिहास छ । यो पटक भने अगाभी टोलीको ट्याग हटाउन चाहन्छ इंग्ल्यान्ड ।
यता, ट्युनिसियाको अघिल्ला विश्वकपको इतिहास राम्रो छैन । तर, यो पटक युवा खेलाडीको बाहुल्यता ट्युनिसियामा रहेको छ । ट्युनिसियाको लक्ष्य क्वाटरफाइनलको यात्रा गर्नु रहेको छ ।
ट्युनिसियाका प्रशिक्षक नविल मालोलले भनेका छन्, 'खेलका लागि तयार छौं । हामी उत्कृष्ट मध्येको एक टोलीसँग खेल्दै छौं । इंग्ल्यान्डको लागि राम्रो कुरा सबै इन्ग्लिश प्रिमियर लिग खेल्ने खेलाडी छन् । हाम्रो यो पुस्ता निकै राम्रो छ, हाम्रो लक्ष्य क्वाटरफाइनलमा पुग्नु हुनेछ । बिशेष गरी हामीले मैत्रीपूर्णमा उच्च प्रदर्शन गरेका छौं ।'
ट्युनिसियाको यो पाँचौ विश्वकप हो । ट्युनिसिया १२ वर्षपछि विश्वकपमा फर्किएको हो । सन् २००६ को विश्वकप खेलेको ट्युनिसिया त्यसपछिको दुई संस्करणमा छनोट हुन् सकेन । विश्वकपको चौथो सहभागितासम्म समूह चरण पास गर्न नसकेको ट्युनिसियाले यो पटक सनसनी प्रदर्शन गर्न चाहन्छ ।
सम्भावित प्लेईङ ११ (ट्युनिसिया) : मोयुज हसन, सायम बेन युसुफ, यासिने मेरिया, डेलन ब्रुन, अलि मालोल, एन्सी बाड्री, एलयस सखिरी, फेर्जानी ससी, फकरदिने बेन युसुफ, वाहबी खाज्री, नइम स्लिटि
सम्भावित प्लेईङ ११ (इंग्ल्यान्ड) : जोर्डन पिकफोर्ड, केली वाल्क, जोन स्टोन्स, हृयारी मागुरे, किएरण ट्रीप्पर, डेली अली, एस्ले योङ, जार्डन हेन्डरसन, जेसे लिङगार्ड, रहिम स्टर्लिङ, हृयारी केन