काठमाडौं । एउटा सपनाको फेरि हत्या भएको छ । यसपटक सिकार एथलेटिक्सका खेलाडी गोपीचन्द्र पार्की भएका छन् ।
घरेलु खेलकुदमा सपनाको भ्रूण हत्या नयाँ विषय हैन । तर केही भ्रूणहरु बाँच्न सफल हुन्छन् । फुल्छन्, फक्रन्छन्, गोपीचन्द्र बन्छन् । तर प्रतिभाले रंग भर्न नपाउँदै, उडान भेट्न नपाउँदै सामुहिक ‘कत्लेआम’ गरिन्छ । अनि सिंगो खेलकुद तमासे बन्छ । सब रमिते देखिन्छन् ।
गोपीचन्द्र अर्थात गोपी एथलेटिक्सका खेलाडी हुन् । दौडिनु उनको शोख हो । साग खेलकुदमा राजेन्द्र भण्डारीको खोसिएको स्वर्ण पदक फिर्ता ल्याउन भन्दै उनले दौडन सुरु गरेका हुन् । दौडकै लागि उनी विभागमा भर्ना भए । अनेक कोशिश गर्दै विभागको खेलकुदमा आईपुगे । नेपालमा छोटो दुरीको दौडमा भविष्य छैन । गोपीलाई दौडन थियो । उनले लामो दुरी रोजे । सुदुरपश्चिमको एउटा समान्य परिवारबाट दौडिन आएको एउटा केटो राष्ट्रिय एथलेटिक्सको असामान्य खेलाडी बन्यो ।
नेपालको खेल प्रणाली यति ध्वस्त छ, यसबाट कुनै गतिलो खेलाडी जन्मिनै सक्दैन । जन्मेपनि राम्रो खेलाडी बन्न सक्दैन । बनेपनि टिक्न सक्दैन । एथलेटिक्समा यो अझ कठिन मानिन्छ । दौडनु आफैमा कठिन साधना हो । दृढ इच्छा शक्ति, कडा अभ्यास, धैर्यता र लगनशिलताले मात्र कोही राम्रो धावक बन्न सक्छ । एउटा धावकले पटक पटक ‘ट्रयाक एण्ड फिल्ड’मा आफुलाई प्रमाणित गर्नुपर्छ ।
करिब दुई वर्ष अघि सागको ५ हजार मिटर दौडमा स्वर्ण जितेपछि गोपीले ओलम्पिकलाई लक्ष्य बनाएका थिए । हरेक ओलम्पिकमा नेपालबाट पौडी र एथलेटिक्समा खेलाडी सहभागी हुन्छन् । साग सम्पन्न हुने बित्तिकै गोपीको टोकियो ओलम्पिक मिसन सुरु भएको थियो । कोभिडका कारण ओलम्पिक आयोजना एकातर्फ प्रभावित बन्दै थियो । अर्कोतर्फ नेपाल एथलेटिक्स संघले खेलाडीको नाम ओलम्पिकमा पठाउन सकेको थिएन ।
कोभिड सामान्य नहुँदै गत वर्ष मंसिरमा नेपालगञ्जमा पिस म्याराथन आयोजना भयो । नेपाल ओलम्पिक कमिटिले सोही प्रतियोगितालाई ओलम्पिक छनोटको आधार बनायो । पिस म्याराथनको स्वर्ण गोपीले जिते र ओलम्पिकका लागि छनोट भए ।
नेपाल ओलम्पिक कमिटि र नेपाल एथ्लेटिक्स संघले गत मंसिरमा गोपीचन्द्र ओलम्पिकमा छनोट भएको बताएका थिए । ओलम्पिकमा छनोट हुने बित्तिकै गोपीले भनेका थिए, बैकुण्ठ मानन्धरले राखेको म्याराथनको राष्ट्रिय कीर्तिमान ओलम्पिकमा भंग गर्छु । उनी हरेक दिन आफ्नो दाबीमा प्रतिबद्ध देखिन्थे । प्रतियोगिताको संघारमा उनी ३५ वर्ष पुरानो कीर्तिमान तोड्न आत्मविश्वासी देखिन्थे । तर ओलम्पिक सुरु हुनु तीन साता अघि गोपीचन्द्रको नाम ओलम्पिक जाने सूचीबाट काटियो । र नयाँ खेलाडीको नाम समावेश गरियो ।
म्याराथन विधामा धेरै आवेदन परेकाले गोपीको नाम धेरै प्रयास गर्दा समेत समावेश गर्न नसकिएको कारण देखाईयो । स्प्रिन्ट विधामा महिला खेलाडी पठाउनुपर्ने भएकाले सरस्वती चौधरीको नाम सिफारिस गरिएको दाबी गरियो ।
ओलम्पिक बन्ने सपना राखेर विगत दुई वर्षदेखि ट्रयाक एण्ड फिल्डमा रगत, पसिना एक गरेर मेहनत गरिरहेको एउटा खेलाडीले हिजो-आज यस्तै बज्रपात सहन परेको छ । सारा सपना आँखै अघि खरानी बनेको कुरुप दृष्य हेर्न उनी विवश छन् ।
गोपी प्रश्नहरुको चाङले थिचिएका छन् । तर कुनै उत्तर उनीसंग छैन । उनी प्रतिक्रिया विहिन छन् । उनले भनेका छन्, 'केही गडबडी छ । यसको निष्पक्ष छानबिन होस्, सत्य तथ्य बाहिर आओस् । ममाथि अन्याय भएको छ । मलाई न्याय दिनुहोस ।'
ओलम्पिकमा देश बोक्छु भन्ने एउटा खेलाडी क्षणभरमै अन्यायमा परेको छ । न्याय मागिरहेको छ । घरेलु खेलकुदको यो दुखान्त दृष्यले धेरैको मन रोएको छ ।
प्रतियोगिताबाट बञ्चित गरिदा अनेकन प्रश्न गोपीको मस्तिस्कमा खेलेको छ । चित्त बुझ्ने उत्तर उनले पाएका छैनन् । पाएको उत्तरमा उनको चित्त बुझेको छैन ।
सत्य तथ्य बाहिर आएको छैन । तर जानकारहरु भन्छन्, 'ओलम्पिक र एथलेटिक्स संघले आवश्यक समन्वय नहुँदा गोपीले ओलम्पिक खेल्ने अवसर गुमाए ।'
जिम्मेवार दुई पक्षसंग मिलेर राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिवले संयुक्त विज्ञप्ती निकालेपछि घटना थप शंकास्पद बनेको छ । खेलकुदको अभिभावक संस्था राखेप कसरी एउटा खेलाडीमाथि परेको अन्यायको साक्षी बस्न सक्छ, जिम्मेवारी लिन सक्छ । राखेपको कदम सन्देहपूर्ण देखिन्छ । सत्य तथ्य छानविन गर्नुपर्ने संस्था घटनाको साक्षी बसेको चित्र घरेलु खेलकुदका लागि कुरुप तस्विर बनेको छ । तीन ध्रुवमा फर्किएर बस्ने संघ, ओलम्पिक र राखेपलाई एक ठाउँमा जोड्ने संयुक्त बक्तव्यको ‘ग्लू’ अहिले खोजीको विषय बनेको छ ।
खेलाडीको अन्तराष्ट्रिय सहभागीतामा प्राय विवादमा पर्ने नेपाल ओलम्पिक कमिटि र गणतन्त्रकालमा थापाथली दरबार छिरेको एथलेटिक्स संघका कर्तुत विस्तारै सार्वजनिक हुँदै जानेछन् । तर अहिले एक जेहेन्दार खेलाडीमाथि परेको अन्यायका लागि बोल्ने समय आएको छ ।
नेपाल लोकतान्त्रिक खेलकुद संघ, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले विज्ञप्ति निकालेर घटनाको निष्पक्ष छानविन र दोषीमाथि कारबाहीको माग गरेका छन् । यस घटनामा खेलाडी संघ अझ गम्भिर बनेर लाग्न आवश्यक छ । अभिभावक संस्था आफै घटनाको मतियार बनेपछि खेलाडीको अन्तिम आश भनेकै खेलाडी संघ हो । संघले विज्ञप्ती निकालेर खेलाडीको पक्षमा जिम्मेवार कदम उठाएको छ । अब गोपीमाथि न्याय दिलाउने मुख्य जिम्मेवारी संघकै हो । सामान्य बिज्ञप्ती र प्रचारबाजीले गोपीले न्याय पाउने सम्भावना देखिदैन । खेलाडी संघलेनै यस घटनामा गम्भीर अग्रसरता लिन आवश्यक छ । यो खेलाडी संघमात्र हैन, घरेलु खेलकुदका सम्पुर्ण जिम्मेवार निकायको परिक्षाको घडी हो । ओलम्पिकका लागि छनोट भएर अन्तिम समयमा खेलाडीको सपनाको हत्या हुँदा तपाई कहाँ उभिने भन्ने प्रश्न हो ।
गोपीका लागि हामीले गर्न पर्ने धेरै छैन । घटनाको सत्य तथ्य छानविन होस् । घटनाको खास कारण बाहिर आओस् । दोषी भेटिए कारबाही होस् । खेलाडीले राज्यबाट उचित क्षतीपूर्ती पाओस् । फेरी अर्को खेलाडीमाथि यस प्रकारको घटना नहोस ।
यो कुनै सामान्य घटना भने हैन । अन्याय महशुश गरेको खेलाडीको चित्त बुझाउन सकेनौ भने यसका असामान्य प्रभाव घरेलु खेलकुदमा देखिनेछन् । गोपीलाई ‘आइडल’ मानेर ‘ट्रयाक एण्ड फिल्ड’मा भविष्य खोजिरहेका सयौं खेलाडी हतोत्साहीत हुनेछन् । मुख्य तीन जिम्मेवार निकायले बिज्ञप्ती निकालेर एउटा खेलाडीको सपनाको हत्या गरिएको छ । साँचो अर्थमा गोपीमाथि नेपाली खेलकुदले न्याय दिन सकेन भने उनको मृत सपनाको श्राप हामीलाई लागिरहनेछ । के हामी उनको मृत सपनाको मलामी बन्न तयार हो ?