काठमाडौं । राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा सहभागी हुने सबै खेलाडी र अफिसियलको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले १९ खेलाडी र ३ अफिसियलको कोरोना रिपोर्ट नेगेटिभ आएको जनाएको छ ।
खेलाडी र अफिसियलको सोमबार दीर्घायु अस्पतालमा कोरोना परिक्षण गरिएको थियो ।
नेपाली टिमले आजबाट टियु क्रिकेट मैदानमा बन्द प्रशिक्षण सुरु गर्दैछ ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्ड र नामिबियासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टोलीले प्रशिक्षण सुरु गर्न लागेको हो । यस सिरिज जुलाईमा स्पेनमा हुनेछ ।
सिरिजका लागि क्यानले बन्द प्रशिक्षणका लागि २० खेलाडीलाई बोलाएको थियो । तर, पृथु बास्कोटा भने प्रशिक्षणमा सहभागी नहुने भएका छन् ।
सिरिजको तयारीका लागि मुख्य प्रशिक्षक डेभ वाटमोर नेपाल आईसकेका छन् ।
लिग अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग ४ खेल खेलिसकेको छ ।
लिगमा नेपालले ४ खेलमा ४ अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ ।
ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ ।