काठमाडौं । राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा सहभागी हुने खेलाडी र अफिसियलको कोरोना परिक्षण गरिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार १९ खेलाडी र ३ अफिसियलको कोरोना परिक्षण गरिएको जनाएको छ ।
क्यानले दीर्घायु अस्पतालमा खेलाडीको स्वाब संकलन गरिएको जनाएको छ । क्यानले रिपोर्ट भने सार्वजनिक गरेको छैन ।
नेपाली टिमको भोलिबाट बन्द प्रशिक्षण सुरु हुँदैछ ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्ड र नामिबियासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टोलीले प्रशिक्षण सुरु गर्न लागेको हो । यस सिरिज जुलाईमा स्पेनमा हुनेछ ।
सिरिजका लागि क्यानले बन्द प्रशिक्षणका लागि २० खेलाडीलाई बोलाएको छ । तर, पृथु बास्कोटा भने प्रशिक्षणमा सहभागी नहुने भएका छन् ।
सिरिजको तयारीका लागि मुख्य प्रशिक्षक डेभ वाटमोर नेपाल आईसकेका छन् ।
लिग अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग ४ खेल खेलिसकेको छ ।
लिगमा नेपालले ४ खेलमा ४ अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ ।
ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ ।
लिग–२ अन्तर्गत नै ओमानमा तय भएको नेपाल, ओमान र अमेरिकाबीचको सिरिज भने स्थगित भएको थियो ।