काठमाडौं । अलराउण्डर पृथु बास्कोटा राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा सहभागी नहुने भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार पृथु टिमको बन्द प्रशिक्षणमा सहभागी नहुने जनाएको छ ।
व्यक्तिगत कारण देखाएर पृथुले बन्द प्रशिक्षणमा सहभागी हुन नसक्ने बताएको क्यानले जनाएको छ ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्ड र नामिबियासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टोलीले मंगलबारबाट प्रशिक्षण थाल्दै छ । यस सिरिज जुलाईमा स्पेनमा हुनेछ ।
सिरिजका लागि क्यानले बन्द प्रशिक्षणका लागि २० खेलाडीलाई बोलाएको छ । जसमा पृथु अटाएका थिए ।
सिरिजको तयारीका लागि मुख्य प्रशिक्षक डेभ वाटमोर नेपाल आईसकेका छन् ।
लिग अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग ४ खेल खेलिसकेको छ ।
लिगमा नेपालले ४ खेलमा ४ अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ ।
ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ ।
लिग–२ अन्तर्गत नै ओमानमा तय भएको नेपाल, ओमान र अमेरिकाबीचको सिरिज भने स्थगित भएको थियो ।