काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण आजबाट सुरु हुँदैछ ।
नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टिमको प्रशिक्षण आजबाट कीर्तिपुरस्थित टियु मैदानमा हुने जनाएको छ ।
'नेपाली टिमले आजबाट प्रशिक्षण सुरु गर्दैछ । टिमले टियुमा प्रशिक्षणमा गर्ने छन् ।' क्यानका सचिव अशोकनाथ प्याकुरेलले भने ।
क्यानका म्यानेजर विनोद दासले भने टिमको बन्द प्रशिक्षणको तालिका आजबाट भएपनि खेलाडीहरुले औपचारिक रुपमा मंगलबार (भोलि)बाट अभ्यास गर्ने जानकारी गराए ।
'आजबाट ट्रेनिङको तालिका हो तर आज खेलाडीले होटलमा चेक इन गर्नेछन् । कोभिडको पीसीआर हुनेछ । मंगलबार टिमले मैदान गएर तयारी गर्नेछन् ।' दासले भने ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्ड र नामिबियासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टोलीले तयारी थाल्न लागेको हो ।
यस त्रिकोणात्मक सिरिज जुलाईमा स्पेनमा हुनेछ ।
क्यानले बन्द प्रशिक्षणका लागि २० खेलाडीलाई बोलाएको छ । क्यानले बोलाएको टिममा शरद भेषवाकर र पृथु बास्कोटा अटाएका छन् । उनीहरुले घरेलु मैदानमा भएको नेदरल्यान्ड्स र मलेसियासँगको त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज खेलेका थिएनन् । तर, बलर बसन्त रेग्मी, रोहित पौडेल टिममा परेका छैन ।
सिरिजको तयारीका लागि मुख्य प्रशिक्षक डेभ वाटमोर नेपाल आईसकेका छन् ।
लिग अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग ४ खेल खेलिसकेको छ ।
लिगमा नेपालले ४ खेलमा ४ अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ ।
ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ ।
लिग–२ अन्तर्गत नै ओमानमा तय भएको नेपाल, ओमान र अमेरिकाबीचको सिरिज भने स्थगित भएको थियो ।
ओमानमा हुने सिरिज मार्च १९ देखि २८ सम्म हुने तालिका रहेको थियो ।
बन्द प्रशिक्षणमा बोलाईएका खेलाडी -
ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आरिफ शेख, पारस खड्का, दिपेन्द्र सिंह ऐरी, आशिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी, कमल सिंह ऐरी, अविनाश बोहरा, सन्दीप जोरा, शाहब आलम, शुशन भारी, शरद भेषवाकर, बिक्रम शोब, पवन सर्राफ, पृथु बास्कोटा