एजेन्सी । आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको फाइनल अन्तर्गत न्युजिल्याण्डविरुद्धको पहिलो इनिङ्समा भारत अलआउट भएको छ ।
साउथह्याम्पटनमा जारी टेस्टको दोस्रो दिन आइतबार भारत २ सय १७ रन जोड्दा अलआउट भएको हो ।
वर्षाले प्रभावित गरेपछि एक दिन ढिला सुरु टेस्टको पहिलो दिन शनिबार भारतले ३ विकेट गुमाएर १ सय ४६ रन बनाएको थियो ।
तर, आइतबार न्युजिल्याण्डका बलरसामु भारतीय ब्याट्सम्यान टिक्न सकेनन् ।
पहिलो इनिङ्समा भारतका अजिन्का रहाणेले सर्वाधिक ४९ रन बनाए । यस्तै कप्तान विराट कोहलीले ४४ रन जोड्दा रोहित शर्माले ३४ रन बनाए ।
शुबमन गिलले २८ तथा रविचन्द्र आश्विनले २२ रन बनाए ।
भारतलाई सस्तैमा समेट्ने न्युजिल्याण्डका केली जेमिसनले ५ विकेट लिए । उनले मात्र ३१ रन खर्चिए ।
त्यस्तै ट्रेन्ट बोल्ट र निल वाग्नेरले २/२ विकेट लिए ।
विराट कोहलीको कप्तानीमा रहेको भारत पहिलो संस्करणको उपाधि उचाल्न चाहन्छ ।
केन विलियम्सनको न्युजिल्याण्ड पनि उपाधि जित्ने योजनामा रहेको छ ।
टेस्ट च्याम्पियनसिपको विजेताले १.६ मिलियन अमेरिकी डलर पुरस्कार पाउने छन् । फाइनल टेस्ट ड्र (बराबरी) मा सकिए उपाधि बाडिने छन् ।
यस्तै उपविजेता टोलीले ८००,००० अमेरिकी डलर पाउने जनाएको छ । आईसीसीले दुई टिमले पाउने पुरस्कार राशि २.४ मिलियन अमेरिकी डलर रहेको जनाएको छ ।