एजेन्सी । वर्ल्ड टेष्ट च्याम्पियनसिपको फाईनल खेल मौसमले प्रभावित बनाएको छ । भारत र न्युजिल्याण्डबीच साउथह्याम्टनमा जारी टेष्ट च्याम्पियनसिप दोस्रो दिन समेत प्रभावित बन्यो ।
प्रतियोगिताको पहिलो दिन बर्षाको कारण पुरै प्रभावित बनेको थियो । दोस्रो दिन मात्र ६४ दशमलव ४ ओभर खेल हुन सक्यो । खराब प्रकाशका कारण दिनको खेल समय अघिनै सक्नु परेको थियो ।
खेल सकिदा भारत १ सय ४६ रनमा ३ विकेट गुमाएको अवस्था थियो । कप्तान विराट कोहली ४४ र उपकप्तान आजिक्या रहाणे २९ रनमा अविजित थिए ।
यसअघि न्युजिल्याण्डले टस जितेर भारतलाई ब्याटिङ्गको निम्तो दिएको थियो । न्युजिल्याण्ड ४ तिव्र गतिका बलर सहित मैदान उत्रिएको थियो । भारतका रोहित शर्मा र शुभमन गिलले राम्रो सुरुवात गरेका थिए । दुवैले न्युजिल्याण्डका बलरलाई दुख दिएका थिए ।
रोहित र गिलले पहिलो विकेटका लागि ६२ रन जोडेका थिए । रोहितले ६८ बलमा ६ चौकाको मदतले ३४ रन बनाए । गिलले ३ चौका सहित २८ रन बनाए । रोहितलाई काइल जेमिसन र गिललाई निल वेग्नरले आउट गरेका थिए ।
तेस्रो नम्बरमा आएका चेतेश्वर पुजाराले निकै मन्द गतिमा खेलको सुरुवात गरेका थिए । उनले ३६ बलमा खाता खोलेका थिए । उनी मात्र ८ रन बनाएर ट्रेन्ट बोल्टको हातबाट आउट भए । उनले ५४ बलमा २ चौका प्रहार गरे । त्यसपछि विराट र आजिक्या रहाणे मिलेर संयमित तरिकाले भारतको इनिङ्स अघि बढाए । दुवैले चौथो विकेटका लागि ५८ रन जोडे ।
खराब प्रकाशका कारण खेल तीन पटक रोक्न परेको थियो । यसका कारण टी–ब्रेक सहित चाँडै लगिएको थियो । त्यसपछि खराब मौसमका कारण खेल ६४ दशमलव ४ बलमा रोकिएको थियो ।
म्याच अधिकारीहरुले प्रकाशको मिटर जाँचेर खेल पुन सुरु गर्न सकिने बताएका थिए । तर मौसमले साथ नदिएपछि खेल चाँडैनै सकिएको घोषणा गरिएको थियो ।