काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको जर्सी डिजाइन गर्नका लागि प्रतिस्पर्धा खुल्ला भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेन्ड टिचर (एमएसटी) ले सोमबार विज्ञप्ति निकाल्दै राष्ट्रिय टिमको जर्सी डिजाइन गर्नका लागि प्रतिस्पर्धा खुल्ला भएको जनाएको छ।
डिजाइन गर्नेले राष्ट्रिय टोलीको जर्सीको अगाडी र पछाडीको भाग दुबैलाई ध्यानमा राखेर डिजाइन गर्न पर्ने हुन्छ । कुनै पनि व्यक्तिले जर्सीको डिजाइन गर्दा नेपालको राष्ट्रिय झन्डामा प्रयोग हुने रातो र निलो रङ्गको प्रयोग गर्न पर्ने विज्ञप्तिमा जनाइएको छ ।
डिजाइनरले जर्सीको डिजाइन गर्दा राष्ट्रिय टोलीले पालना गर्न पर्ने अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को नियम अनुसार नै डिजाइन गर्न पर्ने हुन्छ ।
क्यानले विज्ञापन एजेन्सी एडप्याडमार्फत माई सेकेण्ड टिचरलाई राष्ट्रिय टोलीको प्रमुख प्रायोजकको रुपमा पाएको हो ।
एड प्याडका प्रबन्ध निर्देशक सुरज गिरीले उत्कृष्ट जर्सी डिजाइन गर्नेले पुरस्कार स्वरुप नगद एक लाख पाउने जानकारी गराए ।
क्यानले जर्सीको डिजाइन जुन १७ सम्म पठाईसक्नु पर्ने जनाएको छ ।
जर्सी छनोट समितिले उत्कृष्ट डिजाइनलाई छनोट गर्नेछ । छनोट समितिमा क्यानक २ जना र एडप्याडका एक जना सदस्य रहेका छन् ।
नेपालले जुलाईमा आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्ड र नामिबियासँग एकदिवसीय सिरिज खेल्दैछ ।
नेपालमा भएको पछिल्लो त्रिकोणात्मक क्रिकेट सिरिजको संघारमा आईएनजी ग्रुप अन्तर्गतको माई सेकेन्ड टिचरले राष्ट्रिय क्रिकेट टिमको जर्सीलाई मुख्य प्रायोजन गरेको थियो ।
त्रिकोणात्मक सिरिजका दौरान माई सेकेन्ड टिचरले कुशल भुर्तेल, आसिफ शेख र उपकप्तान दिपेन्द्र सिंह ऐरीलाई प्रयोजन गरेको थियो । इ–लर्निङ प्लेटफर्म सेकेन्डर टिचरले एक वर्षका लागि तीन क्रिकेटरलाई प्रायोजन गरेको होे ।