काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेभ वाटमोर नेपाल आईपुगेका छन् ।
मुख्य प्रशिक्षक वाटमोर सोमबार बिहान नेपाल आईपुगेका हुन् । नेपाल आईपुगेका उनी क्वारेन्टिनमा बसेका छन् ।
कोरोना भाईरसको दोस्रो लहरको महामारीका कारण क्रिकेट गतिविधि स्थिगित भएपछि वाटमोर गत बैशाखमा श्रीलंका फर्किएका थिए ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीका लागि प्रशिक्षक वाटमोर नेपाल फर्किएका हुन् ।
यस अघि स्कटल्याण्डमा जुलाईमा हुने भनिएको त्रिकोणात्मक सिरिज अब स्पेनमा हुनेछ । सिरिजका लागि नेपाली टिमले चाडै तयारी सुरु गर्ने बताईएको छ ।
लिग अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग ४ खेल खेलिसकेको छ । लिगमा नेपालले ४ खेलमा ४ अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ ।
ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ ।
लिग–२ अन्तर्गत नै ओमानमा तय भएको नेपाल, ओमान र अमेरिकाबीचको सिरिज भने स्थगित भएको थियो । ओमानमा हुने सिरिज मार्च १९ देखि २८ सम्म हुने तालिका रहेको थियो ।
२०२१ को सुरुवातमा नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा नियुक्त हुनु भएका वाटमोरको प्रशिक्षणमा नेपालले घरेलु मैदानमा त्रिकोणात्मक टी–ट्वान्टी सिरिजको उपाधि जितेको थियो ।
नेपालले घरेलु मैदानमा नेदरल्यान्ड्स र मलेसियासँगको त्रिकोणात्मक टी–ट्वान्टी सिरिजको उपाधि जितेको हो ।