भद्र खेलाडीलाई पहिलो रातो कार्ड !

काठमाडौं । एसियाली पावर हाउस अष्ट्रेलियाविरुद्धको खेलसँगै नेपालको फिफा विश्वकप २०२२ छनोट र एसियन कप २०२३ अन्तर्गत समूह बीको छनोट खेल सकिएको छ ।
कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय मैदानमा शुक्रबार राति एसियन कपको पूर्व च्याम्पियन अष्ट्रेलियासँग ३-० ले पराजित हुँदै नेपालले छनोटको अन्त्य गरेको हो ।
अष्ट्रेलियाविरुद्ध पहिलो हाफमा २ गोल खाएको नेपालले दोस्रो हाफमा १ गोल व्यहोरेको थियो । अष्ट्रेलियाको जितमा कप्तान म्याथ्यु लेकी, फ्रान करासिक र मार्टिन बायलले एक एक गोल गरे ।
तर, अष्ट्रेलियाविरुद्धको खेलमा नेपाल १० खेलाडीमा समेटिएको थियो । डिफेन्डर रोहित चन्दले रातो कार्ड पाएपछि नेपाल पहिलो हाफमै १० खेलाडीमा समेटिएको थियो ।
४४ औं मिनेटमा रोहितले काउन्टरमा रहेको बलमा अष्ट्रेलियाका मार्टिन बायललाई डिबक्स क्षेत्र बाहिर लडाएपछि ओमानी फिफा रेफ्री अहमेद अबु बकारले रोहितलाई सिधै रातो कार्ड देखाएका थिए । पेनाल्टी क्षेत्र बाहिर 'डक सो' (स्पष्ट गोल हुने अवसरलाई वन्चित गर्नु ) गरेसँगै नेपाल १० खेलाडीमा सिमित भएको हो ।
अष्ट्रेलियाका मार्टिनले बल नियन्त्रणमा लिँदै नेपालको पेनाल्टी बक्सतर्फ अगाडी बढाउँछन । त्यो अवस्थामा नेपालको अन्तिम डिफेन्डमा रोहित रहेका थिए । रोहितले हातको प्रयोग गर्दै तानेर रोक्न खोज्दा मार्टिन लड्न पुगे । तर, ओमानी रेफ्रीले रोहितलाई रातो कार्ड देखाउन केहि समय हिचकिचाए । बल समेत ‘डेथ’ भएको थिएन । उनले सहायक रेफ्रीको सहायताले सतप्रतिशत निर्धक्कका साथ रेफ्री ‘ल’ अनुसार रातो कार्ड देखाए ।
रेफ्री ‘ल’ अनुसार गोलरक्षक (किरण लिम्बु)लाई अन्तिम मानिदैन । अट्याकर मार्टिनसँग बल रहँनु, बल र गोल पोष्टको दुरी नजिक हुनु, बल सिधै पोष्टतर्फ अगाडी बढ्नुको कारण ‘डक सो’ को परिधिमा रहँदा रोहित रातो कार्डको भागीदार बनेका हुन् ।
रेफ्रीले देखाउने रातो कार्डको ८ प्रकार मध्ये ‘डक सो’ पनि एक प्रकारको अवस्था हो ।
फिफा रेफ्री समेत रहेका एक नेपाली रेफ्रीले रोहितले त्यो अवस्थामा रातो कार्डनै पाउने बताउँछन् ।
‘रेफ्री ल अनुसार त्यो रातो कार्डकै अवस्था थियो । पेनाल्टी एरियामा त्यो अवस्थामा रातो कार्डनै देखाईन्छ ।’ नाम नखुलाउने सर्तमा उनले भने ।
रोहितको यो खेल जीवनको पहिलो रातो कार्ड हो । मिडफिल्डर र डिफेन्डर दुबै भूमिकामा खेल्न सक्ने रोहितले यस अघि क्लब र राष्ट्रिय टोलीबाट खेल्दा रातो कार्ड व्यहोरेका थिएनन् ।
रोहित सन् २००९ बाट राष्ट्रिय फुटबल टोलीका नियमित सदस्य हुन् । एएफसी च्यालेन्ज कप छनोट अन्तर्गत रोहितले प्यालेस्टाईनविरुद्ध राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए ।
२९ वर्षीय रोहित इन्डोनेसियाको घरेलु लिग खेल्ने गर्छन् । एन्फा एकेडेमीका उत्पादन रोहित तीन वर्षबाट पर्सिजा जाकर्ताबाट व्यवसायिक फुटबल खेलिरहेका छन् ।
मछिन्द्र क्लबबाट व्यवसायिक फुटबल अगाडी बढाएका रोहितले मनाङ मर्स्याङ्दी हुँदै मलेसियन लिग र इन्डोनेसिया पुगेका हुन् ।