काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज स्पेनमा हुने पक्का भएको छ ।
स्कटल्याण्डमा जुलाईमा हुने भनिएको त्रिकोणात्मक सिरिज स्पेनमा हुने पक्का भएको हो ।
नेपाल क्रिकेट संघ (क्यान) का सचिव अशोकनाथ प्याकुरेलले सिरिज स्पेनमा हुने पक्का जस्तै भएको बताए ।
तर, उनले आईसीसीबाट आधिकारिक पत्र नआएकाले क्यानको तर्फबाट पक्का भन्न नमिल्ने जिकिर गरे ।
'केही २-४ काम बाँकी छ । आईसीसीबाट पनि आधिकारिक पत्र भने आएको छैन । त्यसले अहिले नै पक्का भनेर भन्दिन । पक्का भयो भने जानकारी गर्ने नै छौँ,' उनले भने, 'तर, यो पक्का जस्तै हो । केही थोरै काम गर्न बाँकी छ । त्यो हुँदैछ ।'
लिग अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग ४ खेल खेलिसकेको छ ।
लिगमा नेपालले ४ खेलमा ४ अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ ।
ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ ।
लिग–२ अन्तर्गत नै ओमानमा तय भएको नेपाल, ओमान र अमेरिकाबीचको सिरिज भने स्थगित भएको थियो ।
ओमानमा हुने सिरिज मार्च १९ देखि २८ सम्म हुने तालिका रहेको थियो ।
कोरोनाको बढ्दो प्रभावको कारण क्वारेन्टिनको प्रावधान र भ्रमण कडाइको कारण अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सिरिज स्थगित गरेको थियो ।