काठमाडौं । नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेले इंग्ल्यान्डमा आयोजना हुने भाइटालिटी टी-ट्वान्टी ब्लास्ट क्रिकेट प्रतियोगिता गुमाउने भएका छन् ।
बेलायतको भिसा ढिला आएको कारण सन्दीपले भाइटालिटी ब्लास्ट गुमाउने भएका हुन् ।
सन्दीपका म्यानेजर रमण शिवाकोटीले भिषा र क्वारेन्टिनको कारण प्रतियोगिता गुमाउने बताए ।
'भिषा ढिलो आयो । उता पुगेर क्वारेन्टिन बस्ने समय भएन । सम्झौता अनुसार सुरुवातबाटै उनी त्यहाँ पुग्नु पर्ने थियो,' रमणले भने, 'अब क्वारेन्टिन बस्दा ५/६ खेल सकिन्छ । सन्दीप २६/२७ मे भित्र पुगिसक्नु पर्ने थियो ।'
भाइटालिटी ब्लास्ट जुन ९ देखि १८ सेप्टेम्बरसम्म हुने तालिका रहेको छ । सन्दीप वोर्सेस्टरशायर र्यापिड्समा अनुबन्धित भएका थिए । सन्दीप पहिलो पटक यस प्रतियोगिता खेल्ने तयारीमा थिए ।
सन्दीपले भिषा ढिला आएपछि सामाजिक संजालमा समेत आक्रोश पोखेका थिए ।
यस्तै शिवाकोटीले क्लबले सन्दीपको स्थानमा अर्को खेलाडी अनुबन्धको तयारी गरिरहेको बताए ।
भाइटालिटी ब्लास्ट खेल्न नपाए पनि सन्दीप अर्को प्रतियोगिता द हन्ड्रेड क्रिकेटका लागि भने इंग्ल्यान्ड जाने भएका छन् ।
'द हन्ड्रेडका लागि भने उनी जाने छन् । क्लबले बोलाएपछि उनी जाने छन् । सायद जुनको अन्तिमतिर जाने छन्,' शिवाकोटीले भने ।
सन्दीपले खेल्ने द हन्ड्रेड जुलाई २२ बाट हुने तालिका रहेको छ ।
सन्दीपले ओभल इन्भिन्सिबलबाट द हन्ड्रेड खेल्ने छन् ।