काठमाडौं । सर्वाधिक पुरस्कार राशीको आदिअवादी महिला भलिबल (एभीएल) प्रतियोगिता भोली (शनिबार) बाट सुरु हुँदैछ ।
प्रतियोगिता नेपाल भलिबल संघ र आदीअवादी फाउन्डेसनको आयोजनामा हुने प्रतियोगिताको उद्घाटन खेलमा चितवन टाईगर्स र त्रिभुवन आर्मी क्लबबीच हुनेछ । उद्घाटन खेल अपरान्ह २ बजे हुनेछ ।
त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा हुने प्रतियोगिता लिगकम नकाउटका आधारमा संचालन हुनेछ । प्रतियोगितामा सहभागि टिमलाई दुई समूहमा बिभाजन गरिएको छ । न्यु डायमण्ड,चितवन टाईगर्स र आर्मी एक समूहमा छन् भने एपीएफ,पुलिस र पोखरा पिङ्केज अर्को समूहमा रहेका छन् ।
एभिएल बिजेताले ६ लाख नगद प्राप्त गर्ने छ । त्यस्तै दोश्रो स्थान हाँसिल गर्नेले ३ लाख र तेश्रोले १ लाख ५० हजार प्राप्त गर्ने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान स्कुटर र नगद ५० हजार प्राप्त गर्ने छन् । त्यस्तै टिम तयारीका लागि एपीएफ,पुलिस,आर्मी र न्यु डायमण्डले जनहि १ लाख २५ हजार तयारी खर्च प्राप्त गर्ने छन् ।
यस्तै प्रतियोगिता अघि शुक्रबार आयोजकको प्राविधिक टोलीले टेक्निकल सेमिनार संचालन गरेको थियो । अन्तर्राष्ट्रिय रेफ्रि गौतम लासिवा,अन्तर्राष्ट्रिय रेफ्री क्यानिडेड चन्द्र बदना राई, एशियन अन्तर्राष्ट्रिय रेफ्रि क्यानिडेड पूर्ण चौलागाई,विजय केसी र विकास गुरुङले सहभागि टिमका कोच तथा कप्तानलाई प्राविधिक पक्षबारे जानकारी गराए ।
टेक्निकल सेमिनारमा नेपाल भलिबल संघकी उपाध्यक्ष निरोज मास्के,महासचिव जितेन्द्र वहादुर चन्द,आदीअवादी फाउन्डेसनका कार्यकारी प्रमुख दिनेश सिंह,फाउन्डेसनका नेपाल प्रमुख सुर्य गुरुङलगायतको उपस्थिति रहेको थियो ।