काठमाडौं । नेपालको शारीरिक सुगठनमा क्षेत्रमा सर्वाधिक सम्मानित प्रतियोगिता ‘धर्मश्री’ को १५ औं संस्करण अर्को साता आयोजना हुने भएको छ ।
नेपालकै पहिलो शारिरीक सुगठन संस्था नेपाल ब्यायाम मन्दिरको आयोजनामाहुने प्रतियोगिता असोज १९ र २० गते हुने भएको छ ।
राष्ट्रब्यापी खुल्ला प्रतियोगिताको रुपमा रहेको प्रतियोगितामा करिव ४०० खेलाडीहरुले विभिन्न ७ तौल समूहमा प्रतिस्पर्धा गर्ने आयोजक मन्दिरका अध्यक्ष नारायण प्रधानले जानकारी गराए ।
प्रतियोगितामा ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी, ८० केजी र ८० केजी माथीको तौल समूहमा प्रतिस्पर्धा गराईने छ । र, प्रत्येक तौल समूहका पहिलो स्थान हात पार्ने खेलाडीहरुले ओभरअल राउण्डमा धर्मश्री उपाधीका लागि प्रतिस्पर्धा गर्ने छन् ।
धर्मश्री प्रतियोगिताको १५ औं संस्करण सर्वाधिक पुरस्कार राशिको हुनेछ । यस संस्करणको बिजेतालाई नगद ५ लाख सहित ट्रफी र ब्यानेटबाट सुसज्जित गरिने छ ।
यस्तै प्रतियोगितामा दोश्रो हुनेले २ लाख, तेश्रोले १ लाख, चौथोले ९० हजार, पाँचौले ८० हजार, छैटौंले ७५ हजार र सातौं स्थान हात पार्नेले ६० हजार नगद, मेडल तथा अन्य पुरस्कार प्राप्त गर्ने छन् । यस्तै तौल समूहमा दोश्रो र तेश्रो हुनेले क्रमश नगद ३० हजार र २० हजारका साथै मेडल प्रमाण पत्र प्राप्त गर्ने छन् ।
प्रतियोगितामा सहभागी हुने खेलाडीहरुको हौशला अभिबृद्धि गर्न भारतका चर्चित दुई पटकका मि. वल्र्ड, मि. युनिभर्स तथा मि. ईण्डिया संग्राम चौगुले पनि नेपाल आउने भएका छन् । कुल ४० लाखको बजेट रहेको प्रतियोगिताको अघिल्लो संस्करणको धर्मश्री पर्शाका अर्जून बर्णवाल रहेका थिए ।
प्रजातन्त्र प्राप्तिको लागि अमुल्य जीवनको आहुती दिने अमर शहिद तथा ब्यायामका प्रणेता धर्मभक्त माथेमाको स्मृतीमा यस प्रतियोगिता २०४२ सालबाट सुरु भएको थियो ।