काठमाडौं । नेपाली राष्ट्रिय भलिबल टोलीका सदस्य मन बहादुर श्रेष्ठले हङकङमा हुने भलिबल प्रतियोगिता खेल्ने भएका छन् । हङकङमा आयोजना हुने दशौं पुरुष भलिबल प्रतियोगिता खेल्न मन बहादुर शुक्रबार त्यसतर्फ प्रस्थान गर्ने छन् ।
घान्द्रुक समाज हङकङको आयोजना हुने प्रतियोगितामा मन बहादुरले आयोजक टोलीबाट खेल्नेछन् । मन बहादुरले घान्द्रुकले प्रतियोगिताको लागि बोलाएपछि हङकङ जान लागेको खेलपाटीलाई बताए । मन बहादुर शुक्रबार राति ११ बजे हङकङ प्रस्थान गर्ने छन् ।
त्रिभुवन आर्मी क्लबका कप्तान समेत रहेका मन बहादुर ओपन स्पाईकर हुन् । मन बहादुरले गत बर्ष पनि यस प्रतियोगिता खेलेका थिए । उनी उत्कृष्ट खेलाडी समेत चुनिएका थिए । गत वर्ष उनको टिम घान्द्रुकले उपाधि जितेको थियो ।
चुनमुन बटरफ्लाईस्थित भलिबल प्ले ग्राउन्डमा हुने प्रतियोगिता आगामी आइतबार हुनेछ । प्रतियोगितामा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
यस प्रतियोगितामा पछिल्लो समय नेपाली राष्ट्रिय टोलीका सदस्यहरुले बर्षेनी विभिन्न क्लबबाट खेल्दै आएका छन् । यस प्रतियोगितामा नेपाली राष्ट्रिय टोलीका पुर्व सदस्य संजय अर्याल पर्वत क्लबबाट खेल्दैछन् । यस्तै सुमित श्रेष्ठ आधिखोला क्लबबाट खेल्नेछन् ।