एजेन्सी । पाकिस्तानी फास्ट बलर नासिम शाहले पाकिस्तान सुपर लिग (पीएसएल) टी-ट्वान्टी क्रिकेटको बाँकी खेलहरु खेल्न पाउने भएका छन् ।
कोरोना भाईरसको प्रोटोकल उलंघन गरेपछि क्वेटा ग्लाडीयटर्समा आबद्द शाहलाई यस अघि टिमबाट बाहिर राखिएको थियो ।
तर, पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले अघिल्लो निर्णय उल्टाएर शाहलाई लाहोरमा रहेको पीएसएलको बायो बबल्सभित्र बस्ने अनुमति दिएको छ ।
अब शाह प्रतियोगिताका लागि तेस्रो चार्टर फ्लाइटबाट दुबई जाने छन् ।
पीएसएलको बाँकी खेलहरु युएईमा हुनेछ । कोरोना महामारीको कारण प्रतियोगिताको बाँकी खेलहरु युएईमा आयोजना गर्न लागिएको हो ।
पीएसएलमा अब २० खेलहरु बाँकी रहेको छ ।
पीसीबीको प्रस्तावपछि युएईको आबुधाबी सरकारले पीएसएल गर्न अनुमति दिएको थियो ।
फ्रेन्चाईज टिमले बाँकी रहेको खेलहरु युएईमा आयोजना गर्न आग्रह गरेपछि पीसीबीले युएईसामु प्रस्ताव गरेको हो ।
कोरोना भाईरसको दोस्रो लहर बढेसँगै फ्रेन्चाईज टिमले बाँकी खेल पाकिस्तानमा नगराउन आग्रह गरेको हो ।