काठमाडौं । नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेले बेलायतको भिसा पाउन कठिनाई भएको बताएका छन् ।
सन्दीपले सामाजिक संजालबाट भाइटालिटी टी-ट्वान्टी ब्लास्ट र द हन्ड्रेड क्रिकेट खेल्न बेलायत जानको लागि आवेदन दिएपनि भिसा प्राप्त गर्न नसकेको बताएका छन् ।
ट्वीटरबाट सन्दीपले भिसा पाउन कठिन भएको बताउँदै सहयोगका लागि नेपालस्थित बेलायती दूतावास, नेपालको प्रधानमन्त्री कार्यायल र परराष्ट्र मन्त्री प्रदीप ज्ञावलीलाई सहजीकरणका लागि आग्रह गरेका छन् ।
सन्दीपले भिएफएस ग्लोबलमार्फत भिसाका लागि एक महिनाअघि आवेदन दिएको तर हालसम्म कुनै जानकारी प्राप्त गर्न नसकेको बताएका छन् ।
सन्दीपले फलोअपका लागि फोन गरेर सोध्दा पनि स्पष्ट उत्तर नआएको ट्वीटरमा लेखेका छन् ।
सन्दीपले खेल्ने भाइटालिटी टी-ट्वान्टी ब्लास्ट जुन ९ देखि १८ सेप्टेम्बरसम्म हुने तालिका रहेको छ ।
२० वर्षीय सन्दीपले पहिलो पटक टी-ट्वान्टी ब्लास्ट खेल्न लागेका हुन् ।
सन्दीपले वोर्सेस्टरशायर र्यापिड्सबाट टी-ट्वान्टी ब्लास्ट खेल्ने छन् ।
यस्तै सन्दीपले खेल्ने द हन्ड्रेड जुलाई २२ बाट हुने तालिका रहेको छ ।
सन्दीपले ओभल इन्भिन्सिबलबाट द हन्ड्रेड खेल्ने छन् ।