एजेन्सी । पाकिस्तानका पूर्व कप्तान साहिद अफ्रिदीले पाकिस्तान सुपर लिग (पीएसएल) टी-ट्वान्टी क्रिकेटको बाँकी खेलहरु गुमाउने भएका छन् ।
मुल्तान सुल्तानमा आबद्द अफ्रिदीले सोमबार पीएसएलको बाँकी खेल गुमाउने पुष्टि गरेका छन् ।
चोटका कारण अफ्रिदीले पीएसएलको बाँकी खेल गुमाउने भएका हुन् ।
अफ्रिदीले सोमबार ढाडको पछाडीको भागको दुखाईको कारण पीएसएल खेल्न नसक्ने बताएका छन् ।
प्रशिक्षणको दौरान दुखाई महसुस गरेपछि जाँच गर्दा डाक्टरले आराम गर्न सल्लाह दिएको उनले बताएका छन् ।
पीएसएलको बाँकी खेलहरु युएईमा हुनेछ । कोरोना महामारीको कारण प्रतियोगिताको बाँकी खेलहरु युएईमा आयोजना गर्न लागिएको हो ।
पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) को प्रस्तावपछि युएईको आबुधाबी सरकारले पीएसएल गर्न अनुमति समेत दिएको छ ।
यस अघि कोरोनाको कारण रोकिएको प्रतियोगिताको बाँकी खेलहरु जुन २ बाट हुने तालिका रहेको थियो । पीएसएलमा अब २० खेलहरु बाँकी रहेको छ ।
पीसीबीले तीन साता अघि प्रतियोगिता आयोजनाका लागि युएई क्रिकेट बोर्ड समक्ष प्रस्ताव गरेको थियो ।
फ्रेन्चाईज टिमले बाँकी रहेको खेलहरु युएईमा आयोजना गर्न आग्रह गरेपछि पीसीबीले युएईसामु प्रस्ताव गरेको हो ।
पीएसएलमा सहभागी ६ टिमले कराँचीमा तय भएको बाँकी खेल युएईमा गर्न पीसीबीलाई आग्रह गरेको थियो ।
कोरोना भाईरसको दोस्रो लहर बढेसँगै फ्रेन्चाईज टिमले बाँकी खेल पाकिस्तानमा नगराउन आग्रह गरेको हो ।