एजेन्सी । अफगानिस्तानका स्पिनर राशिद खान युएईमा आयोजना हुने पाकिस्तान सुपर लिग (पीएसएल) टी-ट्वान्टी क्रिकेट खेलेर इंग्ल्यान्ड जाने भएका छन् ।
पीएसएल टिम लाहोर क्वालन्डर्समा आबद्द राशिद युएईबाटै इंग्ल्यान्डको टी-ट्वान्टी ब्लास्ट खेल्न इंग्ल्यान्ड जाने भएका हुन् ।
लाहोरले नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई रिलिज गर्दै राशिदलाई टिममा बोलाएको थियो।
कोरोना भाईरसको महामारीले प्रतियोगिता स्थगित हुनु अघि सन्दीपलाई लाहोरले राशिदकै स्थानमा अनुबन्ध गरेको थियो ।
तर, प्रतियोगिता स्थगित हुँदा सन्दीप कराँची पुगेर एक खेल नखेली घर फर्किएका थिए ।
कोरोनाले स्थगित पीएसएलको बाँकी खेलहरु युएईको आबुधाबीमा जुनको पहिलो साताबाट सुरु हुँदैछ । पीएसएलमा अब २० खेलहरु बाँकी रहेको छ ।
राशिदले टी-ट्वान्टी ब्लास्टमा ससेक्स काउन्टी क्रिकेट क्लबबाट खेल्ने छन् ।