एजेन्सी । पाकिस्तानले घरेलु टिम जिम्बावेविरुद्धको दुई खेलको टेस्ट सिरिज जितेको छ ।
हरारेमा सोमबार दोस्रो तथा अन्तिम टेस्टमा जिम्बावेलाई एक इनिङ्स १ सय ४७ रनले हराउँदै पाकिस्तानले सिरिज २-० ले आफ्नो बनाएको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले पहिलो इनिङ्समा ८ विकेट गुमाएर ५ सय १० रन बनाएको थियो ।
पाकिस्तानका अबिद अलीले अविजित रहदै २ सय १५ रनको दोहोरो शतकीय इनिङ्स खेले ।
यस्तै अजहर अलीले १ सय २६ रनको शतकीय इनिङ्स खेल्दा नुमन अलीले ९७ रन बनाए ।
जिम्बावेका ब्लेसिङ मुजाराबानीले ३ विकेट लिए ।
जिम्बावे पहिलो इनिङ्समा १ सय ३२ रन जोड्दा अलआउट भएपछि फलो अनमा परेछ ।
फलो अनमा परेपछि दोस्रो इनिङ्स थालेको जिम्बावे २ सय ३१ रनमा अलआउट भएपछि पाकिस्तान एकै इनिङ्समा विजयी भएको हो ।
पहिलो टेस्टमा पनि पाकिस्तानले एक इनिङ्स १ सय १६ रनको जित निकालेको थियो ।