काठमाडौं । दोस्रो संस्करणको नेपाल स्ट्रोङगेष्ट सुनिल लाल जोशी स्मृति भारोत्तोलन प्रतियोगिता आगामी साता हुने भएको छ ।
आयोजक काठमाडौं जिल्ला भारोत्तोलन संघले बुधबार पत्रकार सम्मेलन गर्दै दोस्रो संस्करणको प्रतियोगिता असोज १७ र १८ गते हुने जानकारी गराएको हो ।
नेपाल भारोत्तोलन संघका पुर्व अध्यक्ष सुनिल लाल जोशीको दोस्रो स्मृति दिवसको अवसरमा हुने प्रतियोगितामा विभिन्न तौल समूहबाट १०० खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ ।
प्रतियोगितामा सिनियर महिलातर्फ ७ तौल समूह, सिनियर पुरुषतर्फ ८ तौल समूह, जुनियर महिलातर्फ ७ तौल समूह र जुनियर पुरुषतर्फ ८ तौल समूहगरि ३० तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा सहभागी हुन बाहिर जिल्लाबाट आएका खेलाडी तथा प्रशिक्षकलाई खाना र बस्नको ब्यवस्था आयोजकले गर्ने भएको छ ।
नेपालमा भारोत्तोलनको विकास र प्रवर्दनका लागि प्रतियोगिताको आयोजना गर्ने गरेको काठमाडौं जिल्ला भारोत्तोलन संघका अध्यक्ष बिजेन्द्र बिक्रम शाहले जानकारी दिए ।