एजेन्सी । जर्मनी, विश्वकप फुटबलमा साबिकको बिजेता हो । जर्मनीले पछिल्लो संस्करणको ब्राजिल विश्वकप सन् २०१४ मा जितेको थियो ।
जर्मनी साविकको बिजेताको हैसियतमा अहिले रुस पुगेको छ । र, २१ औं संकरणको विश्वकपमा जर्मनीले आज पहिलो खेल मेक्सिकोसँग खेल्दैछ ।
जर्मनी र मेक्सिकोबीचको खेल राति पौने ९ बजे सुरु हुनेछ । दुवै टोली पहिलो खेलमा ३ अंक जोड्ने लक्ष्यमा रहने छ ।
युरोपियन जर्मनी र उत्तर अमेरिकी राष्ट्रबीचको खेल निकै रोमान्चक हुने अनुमान गरिएको छ । किनकि दुवै टोलीमा अनुभवी नाम चलेका खेलाडीहरुको साथ रहेको छ ।
यी दुई राष्ट्रबीचको खेलमा मुख्य केन्द्रविन्दुमा रहने छन्, जर्मनीका थोमस मुलर र मेक्सिकोका जाभियर हर्नान्डेज । दुवै खेलाडी आफ्नो राष्ट्रको लागि महत्वपूर्ण खेलाडी हुन् । आजको खेलमा दुवै खेलाडीको प्रदर्शनले ठुलो अर्थ राख्ने छ ।
प्लेयर्स टु वाच :
थोमस मुलर (जर्मनी)
थोमस मुलर जर्मनीका मुख्य खेलाडी हुन् । निकै चलाख फरवार्डबाट जर्मनीले यो पटकको विश्वकपमा आशा राखिएको छ ।
मुलर सन् २०१० को विश्वकपको गोल्डेन बुट विजेता समेत हुन् । त्यसैले २८ बर्षिय यी स्ट्राइकर आजको मुख्य खेलाडीमा रहने छन् ।
मुलर ब्यवसायीक रुपमा जर्मन लिग बुन्डेस लिगामा खेल्ने गर्छन् । यसै सिजन वायर्न म्यूनिखबाट मुलरले ८ गोल गरेका थिए । विश्वकप छनोटको ९ खेलमा मुलरले ५ गोल गरेका थिए । उनले विश्वकपमा १० गोल गरिसकेका छन् । जर्मनीबाट ९१ खेल खेलेका उनले ३८ गोल गरेका छन् ।
जाभियर हर्नान्डेज (मेक्सिको)
पुर्व च्याम्पियन जर्मनीविरुद्ध मैदान उत्रदा मेक्सिकोका मुख्य हतियार जाभियर हर्नान्डेज हुनेछन् । र, मेक्सिकोले भेट्रान तथा परिपक्क हर्नान्डेजसँग अपेक्षा गरेको छ ।
हर्नान्डेजको सम्भवतः यो अन्तिम विश्वकप हुनेछ । किनकी ३० बर्षीय हर्नान्डेजलाई अबको चार बर्षपछि आउने विश्वकपमा उमेरले साथ नदिन सक्छ । तर, यो विश्वकपमा उनले सनसनी खेल खेल्न सक्नेछन् । किनकी उनको यो उमेर निकै परिपक्क उमेर हो ।
इङ्लिस क्लब वेस्ट ह्याम युनाइटेडका स्ट्राइकर हर्नान्डेजले क्लबबाट यो सिजन २८ खेलमा ८ गोल गरेका थिए । विश्वकप छनोटमा भने उनले ७ खेलमा ३ गोल गरेका थिए ।
हर्नान्डेजले राष्ट्रिय टोलीबाट १०२ खेलमा ४९ गोल गरेका छन् । त्यसैले ठूला प्रतियोगितामा उत्कृष्ट फुटबल खेल्न माहिर हर्नान्डेज जर्मनीको टाउको दुखाईको बिषय बन्न सक्ने छन् ।