काठमाडौं । नेपाल भलिबल संघको आयोजनामा पाँचौं संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल चलिरहेको छ ।
त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा सञ्चालन भइरहेको प्रतियोगितामा महिलातर्फ उत्कृष्ट ६ र पुरुषतर्फ ७ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
प्रतियोगितामा रारा बुलबुले तथा टिप टप हेल्प नेपालले समान ३–३ भारतीय खेलाडी प्रतियोगिताका लागि ल्याएका छन् । जसमा भारतका पूर्व कप्तान तथा ओलम्पिक खेलेका खेलाडी समेत छन् ।
प्रतियोगिताको दोस्रो दिन नयाँबजार युथ क्लबले तीन भारतीय खेलाडी सम्मिलित हेल्प नेपाललाई कडा चुनौती दियो । खेलमा नयाँबजारले ३–१ को सेटमा पराजित भएपनि दर्शकको मन भने जित्न सफल भयो ।
पहिलो सेट हेल्प नेपालले २५–१४ ले आफ्नो पक्षमा पारेपनि दोस्रो सेट नयाँबजारले २३–२५ ले जित्दै चुनौती दिएको थियो । तर त्यसपछिका सेट भने नयाँबजारले २५–२२ र २५–१६ ले गुमाउन पुग्यो ।
दर्शकको भरपुर साथ पाएको नयाँबजारले खेल जित्न नसकेपनि टिमका खेलाडीको प्रर्दशन भने उच्च थियो ।
प्रतियोगिताका लागि नयाँबजारले टिममा समावेश गरेको केही खेलाडीले घरेलु भलिबलमा सम्भावना देखाएका छन् ।
सरोज हायु
कमलामाई नगरपालिका सिन्धुलीका सरोजले भलिबल खेल्न लागेको लामो समय भइसक्यो । उनले जिल्ला हुँदै राष्ट्रिय स्तरका थुप्रै प्रतियोगिता खेलिसकेका छन् । ओपन स्पाइकरमा पोख्त २३ वर्षका सरोज सामान्य परिवारबाट आएका हुन् । बुवा, आमा खेती किसानी गर्छन् । परिवारमा चार दाजुभाई छन् । उनी कान्छा हुन् । गाउँमा भलिबल खासै लोकप्रिय छैन । फुटबलै बढी खेलिन्छ ।
विद्यालयमा भलिबल रनिङशिल्ड हुन्थ्यो । अग्लो कदका सरोजलाई भलिबल खेल्ने टिममा समावेश गरियो । त्यहीबाट उनको भलिबलको यात्रा सुरु भयो । जो अहिलेसम्म जारी छ । भलिबल खेल्ने क्रममा उनीसँग रोचक घटना पनि घटेको थियो ।
करिब १५–१६ वर्षको हुँदा जिल्लास्तरीय प्रतियोगिता खेल्ने क्रममा उनको दाहिने हातको बुढीऔला भाँचियो । उनले केही सोच्न सकेनन् । दुखाई खप्न नसकेर खेलको बिचमै रोएका थिए । तर अहिले सम्झिदा उनलाई हाँसो लाग्छ । भन्छन्, ‘अहिले सम्झिदा निकै हाँसो उठ्छ । त्यो बेला सानै पनि थिए । चेकमा जाँदा औंला भाँचियो । धेरै दुख्यो र खेलको बिचमा नै रोए ।’
औंला भाँचिएपछि उनले घरबाट पनि गाली खाए । एक मनले अब खेल्दिन भन्ने नि लाग्यो । तर उनी भलिबलबाट टाढा हुन सकेनन् । करिब ५–६ महिना खेलेनन् । त्यसपछि पुन कोर्टमा पुनरागमन गरे ।
परिवारबाट उनलाई पुर्ण सहयोग छ । अनावश्यक दबाब दिदैनन् । उनी पढाई पुरा गर्न काठमाडौं आए । होस्टेलमा बसे । यसै क्रममा उनी नयाँबजार युथ क्लबमा जोडिए । उनको खेलमा पनि सुधार हुँदै गयो । प्रतियोगिताका लागि उनी होस्टेल वार्डेनलाई नसोधि धेरै पटक गोरखा, रामेछाप, धादिङ्ग पुगेका छन् ।
लामो समय बाहिर रहने भएकाले उनले होस्टेल छोड्नु पर्यो । छुट्टै कोठा लिएर बस्न थाले । एक्लै बस्न थालेपछि आफ्नै मनखुसी चल्ने, उनले पढाई पनि छाडिदिए । पढाई छाडेपनि भलिबलमा उनी अझै निखारिदै आएका छन् । उनै विभिन्न प्रतियोगितामा विधागततर्फ धेरै उपाधि पनि हात पारेका छन् ।
लामो समय भलिबलाई दिएका उनले आफ्नो उमेर र कदले गर्दा राष्ट्रिय टिमको सपना देख्न छोडेका छन् । उनी भन्छन्, ‘राष्ट्रिय टिममा पर्ने, त्यहाँबाट खेल्ने सपना सबैको हुन्छ । तर हाईट पनि कम छ । उमेर पनि बढ्दै गइसक्यो, अब केही हुँदैन । यत्तिकै खेलिरहने छु । पछि भने जिल्लामै बसेर प्रशिक्षक बनेर राम्रा खेलाडी उत्पादन गर्ने सोचमा छु ।’
उनले ढोरपाटन क्लबले आयोजना गरेको लेभल वान कोचेच कोर्षको प्रशिक्षण लिएका छन् ।
विवश थापा
विवशले सानैमा बुवा गुमाउन पुुगे । उनी परिवारको कान्छा सन्तान हुन् । उनका दुई दिदी छन् । घरको जिम्मेवारी उठाउने व्यक्ति नभएपछि आमा कामको सिलसिलामा विदेशिनु पर्यो । विवश आमा, बुवा दुवैको मायाबाट बञ्चित भए । उनको पालनपोषण गर्ने जिम्मा हजुरआमाको थियो । उनी हजुरआमासँग बसेर हुर्किए ।
स्याङ्जा चाँपाकोटका विवश २० वर्षका छन् । उनले पनि पढाईलाई पाखा लगाए । र सानैबाट भलिबल खेल्न केन्द्रित भए । राष्ट्रिय टोलीसम्मको यात्रा तय गर्ने सपना देखेका उनले साथीको लहैलहैमा लागेर खेल्न सुरु गरेका थिए । त्यो बेलामा गाउँघरमा कुखुराको प्रतियोगिता हुन्थ्यो । उनी खेल्न जान्थें, जित्थे पनिं । उनले स्याङ्जाको प्रतिनिधित्व गर्दै धेरै खेल जितेका छन् ।
विभिन्न प्रतियोगिता खेल्दा खेलमा पनि सुधार आयो । गाउँमा मात्र सीमित नभएर दाईहरुको सुझावमा उनी पोखरा झरे । उनी भर्खरै मात्र सम्पन्न टाईगर कपमा गण्डकी प्रदेशबाट प्रतिनिधित्व गरेका थिए । आमाको बुढेशकालको साहारा बनेका विवशलाई कतै भलिबल छोड्नु पर्छ कि भन्ने डर छ ।
‘घरमा मम्मीले त केही भन्नुहुन्न तर दिदीले खेलेर केही हुँदैन, लाहुरेमा भिड्नुपर्छ । त्यसमा नै जागिर खानुपर्छ भन्नुहुन्छ ।’ उनी भन्छन् ।
व्यक्तिगत रुपमा अभ्यास गर्दै प्रतियोगिता खेलिरहेका उनी निरन्तर राम्रो टे«निङ पाएको खण्डमा खेलमा निखार आउने विश्वास लिएका छन् । ‘हरेक खेलाडीको सपना भएजस्तो मेरो पनि राष्ट्रिय टिममा पर्ने सपना छ । तर त्यसका लागि अझै मेहेनत र खेल सुधार्नु छ । ट्रेनिङ धेरै गर्न पाइदैन, व्यक्तिगत प्रशिक्षण गर्ने हो । अरुको जस्तो हैन । प्रतियोगिता खेल्दै हिड्ने गरिएको छ ।’ उनी भन्छन् ।
रुप बहादुर गुरुङ
नवलपरासी त्रिवेणी सुस्ताका रुप बहादुर ब्याक अलराउण्डर हुन् । उनले हाल सञ्चालन भइरहेको एनभीए च्याम्पियनसिप उनको प्रथम सहभागिता हो । उनले पहिलोपल्ट कर्भडहलमा खेलेका हुन् ।
उनले सानो हुँदा गाउँमा माघी मेलामा जान्थें । त्यहाँ अरुले खेलेको देख्थें । उनलाई पनि खेल्न पाए जस्तो हुन्थ्यो । उनले साथीभाई जम्मा पारेर खेल्न सुरु गरे । केही समय पछि उनी जिल्लास्तरीय प्रतियोगितामा छनौट भए । उनी पहिलोपल्ट जिल्लास्तरीय खेल्न बुटवल गए । तर बेन्चमा बस्नुपर्यो । उनलाई त्यो समय धेरै दुख लागेको थियो ।
मनमा इख राखेर उनले प्रतियोगिता सकिए लगत्तै व्यक्तिगत ट्रेनिङ गर्न थाले । उनले १६ वर्षको उमेरदेखि प्रतियोगिता खेल्न सुरु गरेका थिए । उनले अहिलेसम्म ट्रेनिङ सेन्टर वा प्रशिक्षण केन्द्रमा गएर अभ्यास गरेका छैनन् । अब भने पाल्पाली भबिलल क्लबमा ट्रेनिङ गरेर खेललाई सुधार गर्ने सोच बनाएका छन् । १९ वर्षका रुपलाई पनि खेलेर केही हुँदैन भन्छन् । तैपनि उनले खेल्न छाडेका छैनन् ।
‘घरमा खेलमा लागेर केही हुँदैन भन्नुहुन्छ । तैपनि सुने–नसुने जस्तै गर्छु । खेल्न छोडेको छैन र आफुले सक्नेसम्म खेल्छु । निरन्तरता दिन्छु ।’ उनले भने ।
उनलाई लाग्छ, भलिबलले नै जिन्दगी कट्दैन । तरपनि जतिसम्म खेल्न सकिन्छ, निरन्तरता दिने उनले बताए । उनी भन्छन्, ‘यो भन्दा अगाडि बढ्न पाए झन् राम्रो हुन्थ्यो । त्यहीं सोच लिएर खेलिरहेको छु । केही मौका पाउछु कि भनेर पनि यहाँ आएको हुँ । खेलेर देखाउन चाहन्छु ।’