काठमाडौं । पहिलो संस्करणको ललितपुर मेयर कप महिला टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा आज (मंगलबार) दुई खेलहरु हुँदैछ ।
टियु क्रिकेट मैदानमा हुने पहिलो खेलमा एपीएफ क्लब र ललितपुर मेयर्स-११ बीच प्रतिस्पर्धा हुनेछ । एपीएफ र ललितपुरबिचको खेल बिहान ९ बजे सुरु हुनेछ ।
आज एपीएफ लगातार तेस्रो जित निकाल्ने योजनासहित मैदान उत्रनेछ । ललितपुरविरुद्ध जित निकालेमा एपीएफ फाइनल नजिक पुग्नेछ ।
यस अघिका दुई खेलमा एपीएफले जित निकालेको थियो । पहिलो खेलमा प्रदेश-१ लाई ८ विकेटले हराएको एपीएफले दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशलाई ३७ रनले हराएको थियो ।
एपीएफले २ खेलमा ४ अंक जोडेको छ ।
ललितपुर भने दोस्रो जित निकाल्ने योजनामा रहेको छ । ललितपुरले २ खेलमा २ अंक जोडेको छ ।
पहिलो खेलमा सुदूरपश्चिमसँग पराजित ललितपुरले दोस्रो खेलमा लुम्बिनी प्रदेशलाई हराएको थियो ।
दोस्रो खेलमा प्रदेश-१ र सुदूरपश्चिम प्रदेशबीच खेल हुनेछ ।
प्रदेश-१ र सुदूरपश्चिमबीचको खेल अपरान्ह १ बजे सुरु हुनेछ ।
दुबै टिम दोस्रो जितको खोजीमा हुने छन् ।
प्रदेश-१ पहिलो खेलमा एपीएफसँग पराजित भएको थियो । दोस्रो खेलमा लुम्बिनीलाई हराएको थियो ।
पहिलो खेलमा ललितपुरलाई हराएको प्रदेश-१ दोस्रो खेलमा एपीएफसँग पराजित भएको थियो ।
प्रतियोगितामा पाँच टिमको सहभागिता रहेको छ।
प्रतियोगिताको विजेताले ३ लाख नगद पुरस्कार प्राप्त गर्नेछ ।
यस्तै उपविजेताले १ लाख ५० हजार पाउने क्यानले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्दा उत्कृष्ट बलर र ब्याट्सवुमनले १५/१५ हजार पाउने छन् ।