एजेन्सी । टी–ट्वान्टी क्रिकेटमा आक्रमक खेल्नु नै सबथोक मानिन्छ । यस फर्म्याटको प्रतियोगितामा आक्रमक ब्याटिङ गर्ने खेलाडीलाई हेर्ने दृष्टिकोण नै फरक हुन्छ । उनीहरु दर्शकको मनमा बस्न समय लगाउँदैनन् ।
यो नियम विश्व चर्चित फ्रेन्चाइज क्रिकेट लिग आईपीएलमा झनै लागु हुने गर्छ । हरेक टोली यस्तो ब्याट्सम्यानलाई अनुबन्ध गर्न चाहन्छन्, जसले लामो सट खेल्छ । त्यस्ता ब्याट्सम्यानलाई टोलीले आफ्नो सुरुवाती-११ मा राख्न बढी महत्व दिने गर्छन् ।
आईपीएलमा क्रिस गेल र अन्य केही ब्याट्सम्यानले निकै आक्रमक खेल्नै शतक बनाएका छन् । गेलले पनि आईपीएल इतिहासमा एक इनिङ्समा सर्वाधिक रन जोड्ने रेकर्ड आफ्नो नाममा गरेका छन् ।
यसबीचमा केही ब्याट्सम्यान यस्ता छन्, जसको नाममा 'स्लो शतक' को ट्याग छ । आईपीएलमा स्लो शतक जोड्ने चार खेलाडी :
केभिन पिटरसन
इंग्ल्यान्डला केभिन पिटरसनको नाम यस सूचीको तेस्रो स्थानमा छ । २०१२ को आईपीएलमा पिटरसनले दिल्लीका लागि खेल्दै डेक्कन चार्जर्सविरुद्ध ६४ बलमा शतकीय इनिङ खेलेका थिए । पिटरसनले एक एण्डबाट ब्याटिङ गरिरहेका थिए भने अर्को तिरबाट दिल्लीले विकेट गुमाई रहेको थियो ।
पिटरसनले ९७ रनमा छक्का प्रहार गर्दै शतक पुरा गरेका थिए । उनको यस इनिङका कारण दिल्लीले डेक्कन चार्जर्सले दिएको १५७ रनको लक्ष्य भेट्टाएको थियो । उनी आफ्नो शतकीय इनिङका कारण खेलको हिरो बने ।
सचिन तेन्दुलकर र डेभिड वार्नर
सचिन तेन्दुलकरले मुम्बई इन्डियन्सबाट खेल्दै कोच्चि टस्कर्सविरुद्ध २०११ को आईपीएलमा ६६ बल खेल्दै शतकीय इनिङ्स खेलेका थिए । उनले अविजित सय रन बनाएका थिए । आईपीएल इतिहासमा सबैभन्दा स्लो शतक जोड्ने खेलाडीको दोस्रो स्थानमा सचिनसँगै अष्ट्रेलियाका खेलाडी वार्नर पनि छन् ।
वार्नरले कोलकाताविरुद्ध दिल्लीका लागि खेल्दै स्लो शतक बनाएका थिए । २०१० को आईपीएलमा वार्नरले ६६ बलको सामना गर्दै शतकीय इनिङ्स खेलेका थिए ।
मनीष पाण्डे
आईपीएलको दोस्रो सिजनको छैटौं खेलमा मनीष पाण्डेले शतक जोडेका थिए । यो सिजन दक्षिण अफ्रीकामा आयोजना भएको थियो । उनी आईपीएलमा शतक जोड्ने पहिलो भारतीय खेलाडी समेत हुन् ।
२००९ मा उनले बेङ्गलोरका लागि खेल्दै डेक्कन चार्जर्सविरुद्ध ६७ बलमा शतक बनाएका थिए । पाण्डेले ११४ रनको अविजित इनिङ्स खेल्दा कुल ७३ बलको सामना गरेका थिए । जहाँ बेङ्गलोर विजयी भएको थियो ।
यसै इनिङबाट मनीष पाण्डे चम्के र पछि अन्य टोलीबाट आईपीएल खेल्ने मौका पाए । उनको यो इनिङ्स सधैका लागि यादगार बन्यो, तर उनको यो शतक आईपीएल इतिहासको सबैभन्दा स्लो शतक हो ।