काठमाडौं । सशत्र प्रहरीको एपीएफ क्लबले पाँचौ ढोरपाटन एम–१५० राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।
शनिबार भएको फाइनलमा गण्डकी प्रदेशलाई ३ - ० को सोझो सेटमा हराउदै एपीएफ च्याम्पियन बनेको हो ।
नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको मैदानमा एपीएफले गण्डकीलाई २५ -१९,२५ - १५ र २५ - १७ को सेटमा हरायो ।
यसअघि सेमिफाइनलमा एपीएफले गिताञ्जली कलेज र गण्डकी प्रदेशले ढोरपाटन क्लबलाई हराएर फाइनलमा स्थान बनाएको थियो ।
उपाधिसंगै एपीएफले १ लाख नगद पुरस्कार प्राप्त गरेको छ । उपविजेता बनेको प्रदेश ४ ले ६० हजारमा चित्त बुझायो । तेस्रो भएको गिताञ्जली कलेजले ३५ हजार प्राप्त गर्यो । तेस्रो स्थानको लागि भएको खेलमा गिताञ्जलीले ढोरपाटन क्लबलाई २५-२८,३० -२८ र २५ - १५ को सेटमा हरायो ।
प्रतियोगितामा सर्वोकृष्ट खेलाडी एपीएफका महेन्द्र श्रेष्ठ घोषित भए । महेन्द्रले एक थान मोटरसाइकल प्राप्त गरे ।
व्यक्तिगत विधातर्फ उत्कृष्ट सर्भर गिताञ्जलीका दौलत सिंह, सेटर एपीएफका दिनेश गिरी, डिफेन्स प्रदेश ४ का राजन दर्लामी मगर, स्पाइकर एपीएफका टेकराज अवस्थी, ब्लकर प्रदेश ४ का हरी पाण्डे, क्वीकर एपीएफका बलिराम चौधरी र प्रशिक्षक एपीएफका ज्ञानेन्द्र विष्ट चुनिए । उत्कृष्ट हुनेले समान ५/५ हजार नगद प्राप्त गरे ।
ढोरपाटन स्पोर्ट्स क्लबको आयोजनामा भएको प्रतियोगितामा १६ टोलीको सहभागिता रहेको थियो ।