काठमाडौं । भलिबल नेपालमा लोकप्रिय छ । यसको लोकप्रियतालाई देखेरै सरकारले भलिबललाई राष्ट्रिय खेल घोषणा गर्यो । तर राज्यबाट यसले विशेष पूर्वाधार र बजेट पाउन सकेको छैन ।
राष्ट्रिय खेल बनेपनि भलिबलमा तात्विक फरकपन आएको छैन । खेलाडीको जीवनस्तर फेरिन सकेको छैन ।
भलिबल राष्ट्रिय खेल बन्नु र खेलाडी राष्ट्रका गहना भन्नु उस्तै भएको छ । खेलाडी आर्थिक पक्ष बलियो नभएसम्म सम्बन्धित खेलले प्रगति गर्न सक्दैन । गौरवमय इतिहास र अमुर्त नाराले मात्र खेल र खेलाडीको विकास हुदैन ।
पछिल्ला दुई वर्षमा भलिबले गौरवमय ईतिहास रचेको छ । एभीसी सेन्ट्रल जोनको स्वर्ण पदकदेखि सागको ऐतिहासिक रजत पदक महिला भलिबल टिमले जित्न सफल बन्यो । राज्यले नगद सहित सम्मान पनि गर्यो । तर भलिबललाई अघि बढाउने राज्यको तत्कालिन र दिर्घकालिन योजना देखिदैन ।
नेपालको भलिबलको वर्तमान अवस्था, चुनौती र सम्भावनाको विषयमा खेलपाटीकी गीता राईले भलिबलकी पूर्व कप्तान अन्जु श्रेष्ठसँग कुराकानी गरेकी छिन् ।
भलिबल विकासका लागि पहिलो प्राथमिकता के हुनुपर्ला ?
भलिबल विकासको लागि सबैभन्दा पहिला ट्रेनिङ नै हुनुपर्छ । जतिपनि खेल हुन्छन्, सबै व्यवस्थित ढङ्गले खेलाडी उत्पादनदेखि लामो अवधिको योजनाका साथ अघि बढ्नपर्छ । यसले भलिबलको विकासमा सहयोग पुग्दछ ।
भलिबलको कुन पक्षमा हाम्रो कमजोरी देखिन्छ ?
जतिपनि कमीकमजोरी छन्, त्यसमा सुधार ल्याउनुपर्छ । सबैतिर व्यवस्थित तरिकाले एकै खालको अभ्यास हुनुपर्छ । जतिपनि खेलाडी छन्, सबैले गाउँबाट सिकेर आएका हुन्छन् । त्यसमध्यबाट सम्भावित खेलाडीलाई छनोट गरेर उनीहरुलाई उमेर अनुसार बन्द प्रशिक्षणमा राखेर ट्रेनिङ गराउन सकिरहेका छैनौं । त्यो नै हाम्रो सबैभन्दा ठूलो कमजोरी हो ।
अहिले सिमित टिम मात्र देखिरहेका छौँ । नयाँ खेलाडीलाई देख्न सकिरहेका छैन । नयाँ उत्पादन भएका छैनन् । पुराना खेलाडी कति वर्षसम्म खेल्छन् र उनीहरुले कतिसम्म नेपाललाई अन्तराष्ट्रिय मञ्चमा उपस्थित गराउँछन् भन्ने मुख्य प्रश्न हो । त्यसपछिका खेलाडीहरु आउनु पर्यो, उत्पादन हुनुपर्यो । ती खेलाडीको भविष्य सुनिश्चित हुनुपर्यो ।
हाम्रोमा प्रशिक्षकको कमी भइरहेको छ । खेलाडीहरु छन् । तर उनीहरुलाई राम्रो ट्रेनिङ गराउने, सबै जिल्लामा प्रशिक्षकहरु पुगेका छन् कि छैनन् भनेर ध्यान दिनुपर्छ ।
तत्काल भलिबलको कुन पक्षमा सुधार आवश्यक देख्नुहुन्छ ?
जतिपनि खेलाडी छन्, सबै आर्मी, पुलिस, सशस्त्रमा छन् । ती बाहेकका खेलाडीको भविष्य के त ?
खेलिसकेपछि उनीहरुको सुरक्षा, भविष्यनै छैन । खेलपछि के त ? राष्ट्रिय टिमपछि उनीहरुले के गर्छन् ? त्यो कुरानै अन्यौलमा छ । राम्रो व्यवस्थित हुन सकिरहेको छैन । जतिपनि खेलको व्यवसायीकरण हुनुपर्ने हो, त्यो हुन सकिरहेको छैन । ती कुरामा सुधार ल्याउनुपर्छ ।
मुख्यत हामीले ग्रासरुट विकासमा नै ध्यान दिनुपर्छ । ग्रासरुटदेखि नै सुधार गर्दै लगेको खण्डमा यसले भविष्यमा सकारात्मक योगदान गर्छ । ट्रेनिङका साधन पुगेको छैन, उपत्यका बाहिरका टिमको अवस्था कस्तो छ ? त्यसमा क्रमिक रुपमा सुधार ल्याउनुपर्छ ।
हाम्रो प्रशिक्षण र अभ्यासको संरचना कस्तो बनाउनुपर्छ ?
विभागको ट्रेनिङ भइरहेको हुन्छ । तर त्यो भन्दा बाहेकका टिमका खेलाडीलाई ट्रेनिङ दिनुपर्छ । ७७ वटै जिल्लामा प्रशिक्षक उपलब्ध गराएर आधारभुत रुपमै ट्रेनिङ दिन सकेको खण्डमा मात्र सफलता हासिल गर्न सक्छौ । त्यसमा अलिकति अभाव भएको छ । दरबन्दीमा रहेको प्रशिक्षक एकदमै न्यून छन् ।
कुन–कुन ठाउँमा कसले ट्रेनिङ गराएका छन् ? प्रशिक्षकले गराएको ट्रेनिङ राम्रो छ कि छैन ? त्यो मुल्याङ्कन भएको छैन ।
उनीहरुले सिकाएको टेक्निकमा पनि सुधार आएको छैन । जस्तो प्रशिक्षक उत्पादन हुनुपर्ने हो, त्यो भइरहेको छैन । उत्कृष्ट प्रशिक्षक प्रदान गर्न सकेको खण्डमा मात्र राम्रो खेलाडी उत्पादन हुन्छन् ।
गाउँ घरमा खेलेको भरमा मात्र खेलाडी आइरहेका छन् । राम्रो प्रशिक्षित खेलाडीहरु हाम्रोमा निकै कम छन् । उचित रुपमा ट्रेनिङहरु भएको छ कि छैन, त्यो पनि हेर्नुपर्दछ । त्यो जिम्मेवारी प्रशिक्षकको हो ।
खेलाडीहरु प्रतियोगितामा छन् । तर प्रतियोगितामा आधारभुत आवश्यकता पुगेको छ कि छैन भनेर बुझ्न आवश्यक छ । प्रतियोगितामा धेरै लगानी गरिरहेका हुन्छन्, खेलाडी खेल्न जान्छन्, घाइते हुन्छन् । घाइते हुँदा कति घाटा हुन्छ ? यसको उदाहरण हामीले देखिरहेका छौ ।
प्रतियोगिताहरु अहिले धेरै भइरहेको छ । तिनीहरु कतिको ग्यापमा भए ? प्रतियोगितामा धेरै राष्ट्रिय खेलाडीहरु सहभागी भइरहेका छन् । प्रतियोगिता कस्तो खालको भएको छ ? त्यसमा सुधार भएको छ कि छैन ? त्यसको मुल्याङ्कन हुनुपर्छ ।
भलिबलमा खेलाडीको भविष्य कत्तिको सुनिश्चित देख्नुहुन्छ ?
सागपछि कोरानाको कारण खेलाडीको ट्रेनिङ रोकिएको थियो । खेलाडीको अवस्था के छ ? भनेर बुझिएको थिएन । प्रतियोगिता भइरहेका छन्, तैपनि त्यसमा अनुगमन कमी भएको हो कि ?
खेलाडी खेलमा लागिसकेपछि उनीहरुको भविष्य सुनिश्चित हुनुपर्छ । भलिबल राष्ट्रिय खेल भइसकेपछि जस्तो विकास हुनुपर्ने हो, त्यो स्तरमा विकास भएको छ कि छैन ?
राष्ट्रिय खेल भनेको छ, खेलाडीको आधारभुत आवश्यकता पुरा गर्न सकिएको छैन ।
खेलाडीको भविष्य सुनिश्चित भए मात्र नयाँ खेलाडी आउँछन् । खेलाडी घाइते भइरहेका हुन्छन् तर बिमा छैन । विभिन्न सुविधा दिएमा मात्र खेलाडीलाई खेलप्रति आकर्षित गर्न सकिन्छ । हाम्रोमा सिमित खेलाडी मात्र छन् र तिनीहरु मात्र खेलिरहेका छन् । नयाँ खेलाडीलाई यसमा आकर्षित गर्न सकिरहेको अवस्था छैन ।
खेलाडीको पलायनलाई रोक्न कस्तो कदम चालिनुपर्छ ?
अहिले खेलमा लागेका खेलाडीहरु उनीहरुको भविष्य सुरक्षित छ कि छैन भनेर अन्यौलमा छन् । उनीहरुलाई उत्कृष्ट मौकाहरु आएको खण्डमा अवश्य छोडेर जान्छन् । त्यस्तो अवस्था छ ।
खेलसँग सम्बन्धित जति पनि निकाय छन्, उनीहरुले ध्यान पुर्याउनुपर्छ ।
खेलाडीलाई भलिबलमा टिकाई राख्न के गर्नुपर्छ ? भविष्य सुनिश्चित गर्न के गर्नुपर्छ ? त्यो कुरामा ध्यान दिन सक्यो भने हामीले भलिबलमा आश राखेको अनुसार विकास गर्न सक्छौं ।
सबैले आफ्नो ठाउँबाट कोशिश गरिरहेका छन्, तर कहाँ के नमिलेको जस्तो अवस्था भइरहेको छ ।
खेलाडीहरु आफैमा सन्तुष्ट छैनन् । खेलाडीहरु देशका गहना हुन्, त्यसैले उनीहरु खुशी छन् कि छैनन् भनेर बुझ्न आवश्यक छ । खेलेर सन्यास लिएका खेलाडीहरु त्यसै हराएर गइरहेका छन् । उनीहरुको कामको कदर छैन । उनीहरुलाई पनि संरक्षण गरिनुपर्छ ।