काठमाडौं । टेलिभिजन भर्खर भर्खर गाउँ घरमा देखिन थालेका थिए । भिएलसीमा फिल्म हेर्ने समयको कुरा हो । बिस्तारै केबल टिभी पनि देखिन थाले । संगै गाउँ गाउँमा पुगे जोन सिनादेखि अन्डरटेकरसम्म । कठिलो शरिर । रिसाहा भागभंगी । रिङ्गभित्रको बेजोड घम्साघम्सी । धेरैका लागि रेस्लिङ नौलो खेल थियो ।
साँच्चिकै हुने हो कि कृतिम ? धेरैका प्रश्न हुन्थे ।
निकै समयसम्म ती प्रश्नहरु अनुत्तरितनै रहे ।
धेरै जान्दा नजान्दै रेस्लिङ गाउँघरसम्मै लोकप्रिय बन्यो ।
तर नेपालमा यसको संस्थागत विकास हुन समय लाग्यो ।
गतिविधि नभएको त हैन तर संस्थागत रुपमा रिङ रेस्लिङ, संघको रुपमा स्थापित हुन निकै समय लाग्यो ।
यत्रो पृष्ठभुमी किन त भन्दा, पुन: रेस्लिङको चर्चा सुरु भएको छ । आउँदो साता पोखरामा रेस्लिङको दोस्रो राष्ट्रिय च्याम्पियनसिप हुँदैछ । पहिलो संस्करण सन् २०१८ मा पोखरामै भएको थियो ।
‘अब हुने दोस्रो राष्ट्रिय च्याम्पियनसिप हो । प्रथम सन् २०१८ मा गरेको थियौं । निरन्तर गर्ने भनेका थियौ तर बिचमा कोभिडको कारण गर्न पाएनौँ ।’ प्रतियोगिताको तयारीमा जुटेकी रिङ रेस्लिङ संघकी महासचिव सुवर्ण श्रेष्ठले खेलपाटीसंग भनिन् ।
सुवर्णाका अनुसार प्रतियोगिताको तयारी अन्तिम चरणमा छ । मुख्य खेलाडीलाई केन्द्रित गरेर खेल गर्ने तयारी छ । पोखरा लगत्तै संघले सातै प्रदेशमा प्रतियोगिताको तयारी गरेको छ । कोभिडले दुख दिएन भने ७८ सालमा देशभरका सातै प्रदेशमा रेस्लिङ हुनेछ ।
‘पहिला गण्डकी प्रदेशमा गर्छाै । नयाँ वर्षको सुरुवातसँगै सातै प्रदेशमा प्रतियोगिता गर्नेछौ ।’ सुवर्ण भन्छिन् ।
रेस्लिङ त धेरै पहिलादेखि टिभीमा हेर्दै आएको हो । अन्तराष्ट्रिय खेलाडीका नाम धेरैको जिब्रोमा पनि छ । तर नेपालमा रेस्लिङ संस्थागत रुपमा ढिला सुरु भयो । संघको अहिलेको जोड खेलाडी उत्पादनमै रहेको सुवर्ण बताउँछिन् ।
‘मुख्यत खेलाडी उत्पादनमानै ध्यान छ । खेलाडीलाई प्रबद्र्धन गर्ने, विकास गर्ने, तालिम दिने, बाहिर पनि तालिमका लागि पठाउने काम भईरहेको छ ।’ राखेपको बोर्ड सदस्यमा समेत रहेकी सुवर्ण भन्छिन् ।
‘एकजना रेस्लरलाई यो प्रतियोगिता लगत्तै चीन पठाउदै छौँ । अहिले पनि दुईजना रेस्लर जापानमा ट्रेनिङ गरिरहेका छन् । ट्रेनिङ गरेका रेस्लरलाई भोलिका दिनमा आर्थिक उत्पादन गर्न सजिलो होस् भन्ने हिसाबले मुख्य त प्रतियोगितानै हो ।’ सुवर्ण भन्छिन्, ‘प्रतियोगिता गर्न सक्यौ भने उनीहरुलाई पुरस्कारसँगै निश्चित केही सुविधा दिन सक्यौ भने राम्रो हुन्छ । यसमा संघको विशेष ध्यान छ ।’
चैत २० र २१ गते पोखरामा हुने कार्यक्रमलाई विशेष बनाउने संघको तयारी छ ।
‘यो फ्युजन गेम हो । यसमा एमेच्योर र इन्टरटेनमेन्ट दुवै हुन्छ । प्रतियोगितामा २४ रेस्लरको सहभागिता रहेको छ । यसमा २० पुरुष र ४ महिला खेलाडी, ३ जना रेफ्री र अफिसियल गरेर ३५ जना सहभागी छन् ।’ कार्यक्रमबारे सुवर्ण भन्छिन् ।
‘विभिन्न विधामा खेलाउछौँ । विशेषगरी तीन विधा हेब्बी वेट, लाइट वेट र हार्ड कोर भन्ने छ । यसले सबै दर्शकलाई मनोरञ्जन दिन्छ । टिकट काटेर आउने दर्शकलाई ध्यान दिएका छौ ।’ उनले भनिन् ।
रेस्लिङको अन्तराष्ट्रिय बजार राम्रो देखिन्छ । राम्रा खेलाडी सहभागी बनेरै पनि कमाउन सक्छन् । तर नेपालमा पूर्वाधार अभावमा यसले गति लिन सकेको छैन । रेस्लिङको आफ्नै कभर्डहल छैन । पूर्वाधार र प्राविधिक जनशक्तिको अभावमा खेलाडी उत्पादन हुन सकेका छैनन् । संघकी महासचिव सुवर्ण दुई वर्षभित्र कभर्डहल बनाउने योजनाका साथ आफुहरु अघि बढिरहेको बताउँछिन् ।
‘यसको स्कोप धेरै राम्रो देखेको छु । नेपालमा पनि क्लब फ्रेन्चाइज सुरु भइसकेको छ । त्यो राम्रो कुरा हो, यसको योजना पनि बनाइरहेका छौँ ।’ उनी भन्छिन् ।
‘रेस्लिङलाई हरेक महिना आयोजना गर्ने, काठमाडौमै व्यवस्थित ढङ्गले गर्ने योजना छ ।’ उनले भनिन्, ‘कर्भडहल छैन तर दुई वर्ष भित्र आफ्नै कर्भडहल बनाउने योजना छ । त्यो भयो भने हरेक हप्ता एउटा च्याम्पियनसिप राख्न सक्छौ ।’
हरेक हप्ता च्याम्पियनसिप आयोजना गर्न सकेको खण्डमा दर्शक पनि बढ्ने, खेलाडीको अर्थोपार्जन पनि राम्रो हुने र रेस्लरलाई मासिक रुपमा तलब दिएर राख्ने सकिने संघको विश्वास देखिन्छ ।
यसको सम्भावना सन् २०१७ मै पनि देखिएको थियो । पोखरामा पहिलो संस्करणको प्रतियोगिता आयोजना हुदाँ १६ हजार जनाले टिकट काटेर प्रतियोगिता हेरेका थिए । हरेक उमेर समुहका मानिस प्रतियोगिता हेर्न पाएका थिए । त्यसैले केही वर्षमै यस खेलले राम्रो फड्को मार्ने विश्वास संघको रहेको छ ।
सन् २०७२ सालमा स्थापना भएको रिङ रेस्लिङले पछिल्ला केही वर्षदेखि बामे सर्न थालेको हो । फाट्ट फुट्ट प्रतियोगिता नभएका हैनन्, तर संघबाट व्यवस्थित ढङ्गले प्रतियोगिता हुन समय लाग्यो । तर छोटो समयमा यसले गति लिन थालेको संघको बुझाई छ ।
‘हाम्रो अन्तर्राष्ट्रिय एक्सपोज राम्रो छ । हाम्रा खेलाडी बाहिर पनि खेल्छन् । बाहिरका यहाँ पनि आउछन् । त्यसैले अहिले व्यवस्थित ढङ्गले अगाडी बढेको जस्तो मलाई लाग्छ ।’ सुवर्ण भन्छिन् ।
तीन वर्ष अघि मात्र अभ्यासका लागि लैनचौरमा रेस्लिङको एकेडेमी खुलेको छ । अहिले ४५ जना रेस्लरले अभ्यास गरिरहेका छन् । रेस्लर उत्पादन भईरहेका छन् । दैनिक प्रशिक्षक हुन्छ । बाहिरबाट प्रशिक्षकहरु आएर सिकाएका छन् । तर स्थानीय स्तरमा लोकप्रिय बनेको रेस्लिङ अब गाउँ गाउँमा पुग्न आवश्यक देखिन्छ ।
सुवर्णले थपिन्, ‘अहिले २७ वटा जिल्ला संघ छन् । अब प्रदेशस्तरमा कार्यक्रम गर्ने सोच छ । प्रदेश कमिटि बनाउने अवधारणा राखेका छौँ । अब यसलाई स्थानिय स्तरसम्मै लैजान्छौं ।’