एजेन्सी । रुस विश्वकप फुटबल अन्तर्गत अहिले कोष्टारिका र सर्बियाबीचको खेल सुरु भएको छ । दक्षिण अमेरिकी राष्ट्र कोष्टारिका र युरोपियन राष्ट्र सर्बियाबीचको खेल समारा रंगशालामा सुरु भएको हो ।
विश्वकपमा पाँचौ सहभागीता जनाउदै गरेका कोष्टारिका बलियो टोली हो । र, कोष्टारिका ब्राजिल विश्वकपको प्रदर्शन भङ्ग गर्न चाहन्छ । तर, विश्वकपमा लामो इतिहास बोकेको सर्बियाविरुद्ध कोष्टारिकालाई पहिलो खेलमै परिक्षा हुनेछ ।
कोष्टारिकाले सन् २०१४ को ब्राजिल विश्वकपमा क्वाटरफाइनलसम्मको यात्रा तय गरेको थियो । त्यसअघि सन् २००२ र २००६ मा समूह चरणबाटै बाहिरिएको कोष्टारिकाले सन् १९९० को विश्वकपमा भने अन्तिम १६ को यात्रा गरेका थिए ।
इंग्ल्यान्ड, इटाली र उरुग्वे जस्ता ठुला राष्ट्र रहेको समूहबाट ब्राजिल विश्वकपमा कोष्टारिकाले गरेको उक्त प्रदर्शन लोभलाग्दो थियो । तर, कोष्टारिकाको पछिल्लो लय त्यति राम्रो छैन । पछिल्ला मैत्रीपूर्ण खेल कोष्टारिकाले गुमाएको छ । विश्वकपको पहिलो खेलमा भने कोष्टारिका त्यो प्रदर्शन दोहोर्याउन चाहन्न् ।
यता, विश्वकपमा लामो इतिहास बोकेको सर्बिया रुसमा आफ्नो छुट्टै छाप बनाउन चाहन्छ । १२ औं पटक विश्वकप खेल्दै गरेको सर्बिया आठ बर्षपछि विश्वकप खेल्दैछ । युगोस्लाभियाबाट छुट्टिएपछि भने सर्बियाको यो दोस्रो विश्वकप हुनेछ ।
सर्बिया सन् २००६ मा युगोस्लाभियासँग छुट्टिदै स्वतन्त्र राष्ट्र बनेको थियो । स्वतन्त्र भएपछि सन् २०१० को विश्वकप खेलेको सर्बिया सन् २०१४ को ब्राजिल विश्वकपमा भने छनोट हुन् सकेन ।
विश्वकप इतिहास हेर्ने हो भने दक्षिण अमेरिकी राष्ट्रविरुद्ध सर्बियाको प्रदर्शन गर्विलो छ । युगोस्लाभियाकै रुपमा विश्वकप खेल्दा सर्बियाले तीन दक्षिण अमेरिकी राष्ट्रसँग खेलेको छ । जसमा सवै खेल युगोस्लाभियाले जितेको छ ।
कोष्टारिकाविरुद्ध मैदान उत्रदा सर्बिया आफ्नो इतिहासलाई कायम राख्न चाहन्छ । र, सर्बियालाई युरोपियन लिग फुटबलमा जमेका खेलाडीको साथ छ ।