काठमाडौं । औपचारिक घोषणा त हैन, तर नेपाल भलिबल संघको आसन्न निर्वाचनमा मानवीर छन्त्यालले महासचिवमा दाबी प्रस्तुत गरेका छन् । सोही अनुसार आन्तरिक चुनावी गृहकार्य गरिरहेका छन् ।
संघका वर्तमान सचिव समेत रहेका छन्त्याल ढोरपाटन भलिबल ट्रेनिङ सेन्टर चलाउँछन् । प्रतियोगिता गर्छन्, भलिबलका रेफ्री, प्रशिक्षक कोर्सको कार्यक्रम पनि सञ्चालन गर्छन् ।
भलिबल राष्ट्रिय खेल त बन्यो । तर नेपालमा औधी लोकप्रिय रहेपनि फुटबल, क्रिकेट जत्तिको अर्धव्यावसायिकता भलिबलमा देखिदैन । संघको टाउको (केन्द्र) अलिअलि चलेजस्तो देखिन्छ, बाँकी भाग (प्रदेश, जिल्ला) निष्कृय प्राय छन् ।
सुस्ताएको भलिबल बिस्तारै हिड्न थालेको धेरैले टिप्पणी गर्छन् । तर राष्ट्रको खेलको चिनारी पाएको भलिबलले पूर्ण व्यावसायिक फड्को कहिले मार्ला ? यसै सन्दर्भमा भलिबल संघका सचिव तथा ढोरपाटन भलिबल क्लबका अध्यक्ष मानवीर छन्त्यालसंग खेलपाटीकी गीता राईले कुराकानी गरेकी छिन् ।
भलिबल विकासको संरचना कस्तो बनाउने ?
यसमा उद्देश्य र लक्ष्य हुनुपर्छ । भलिबललाई कुन तहसम्म पुर्याउने भन्ने बारेमा योजना बनाउनुपर्छ ।
अन्तराष्ट्रिय क्षेत्रमा एक्सपोजर, विश्व स्तरमा भलिबलबाट देश चिनाउने खालको विकास गर्न विभिन्न पूर्वाधारको विकास गर्नुपर्छ ।
आधारभुत पूर्वाधार भयो भने भलिबलको पक्कैपनि विकास हुन्छ । यसको लागि पूर्वाधार तयार हुनुपर्छ । जिल्ला, प्रदेशमा कर्भडहल बन्नुपर्छ । तल्लो तहका बालबालिकालाई उमेर समूहदेखि राष्ट्रिय खेलाडीसम्म वर्गीकरण गरेर अभ्यास, खान, बस्न, शिक्षाको ग्यारेन्टी गर्ने, सेवा सुविधाको व्यवस्था हुनुपर्छ । खेलाडीलाई अरु केही नभएपनि गाँस, बास र कपासको वातावरण संघले तयार पार्नुपर्छ ।
यस क्षेत्रमा लागेपछि अर्काे क्षेत्रमा फर्केर जान नपरोस् भनेर ढुक्क बनाउन सक्नुपर्छ । त्यसको व्यवस्था नेपाल भलिबल संघले गर्नुपर्छ । संघमा आउने पदाधिकारी भलिबलमा विकास गर्ने, योजना बनाउने, संघको केन्द्रिय पदाधिकारी, प्रदेश, जिल्ला कमिटी, रेफ्री, प्रशिक्षक सबैले योजना अनुसार अगाडी बढ्न सकेको खण्डमा भलिबलले फड्को मार्छ ।
आधारभुत प्रशिक्षणमै प्रश्नहरु छन् । खेलाडीलाई कसरी विकास गर्दै लैजानुपर्छ भन्ने लाग्छ ?
खेलाडीलाई राम्रो अभ्यास गराउनकालागि सिकाउने मान्छे पनि सिकेको हुनुपर्छ । त्यो सम्बन्धि सामान्य ज्ञान हुनुपर्छ ।
खेल सामाग्री, बल, नेटहरु, मैदान त्यसमा पनि मैदान कस्तो छ ? साह्रो मैदान भयो भने घाइते धेरै हुन्छन् । कति समय ट्रेनिङ गर्ने, आराम गर्ने भन्ने कुरा सिकेको प्रशिक्षक भएको खण्डमा सन्तुलन मिलाउन सक्छ । एक वर्षमा कति प्रतियोगिता खेल्ने भन्ने विषयमा संघले नीति बनाएर प्रशिक्षक, रेफ्रीले लागू गरेको खण्डमा खेलाडीलाई राम्रो हुन्छ ।
राम्रा खेलाडी उत्पादन गर्नकालागि ठाउँ–ठाउँबाट सम्भावित खेलाडीलाई एकेडेमीमा हाल्नुपर्छ । उनीहरुलाई ट्रेनिङ राम्रो दिएर अन्तराष्ट्रिय स्तरसम्म पुर्याउन सक्यो भने खेलाडीलाई मात्र नभएर भलिबल विकास पनि हुन्छ । त्यसमा सबैले सहयोग गर्नुपर्छ ।
भलिबलको संरचनाले काम नगरेको गुनासो धेरै सुनिन्छ, कुन तहबाट कदम चाल्न आवश्यक देख्नुहुन्छ ?
भलिबल विकास गर्न धेरै कमिटि हुन्छन् । उनीहरुले आ–आफ्नो कमिटी अनुसार काम गर्नुपर्छ ।
जिल्ला, केन्द्र, प्रदेशमा भलिबल संघ चाहिदाँ ठीकै छ, नचाहिदा ठिकै छ भन्ने खालको मनोभाव छ । अब त्यो नभनेर भलिबल संघ मेरै हो, मैले गर्नैपर्छ भनेर लाग्नुपर्छ । अरुले मात्र हैन ढोरपाटन ट्रेनिङ सेन्टरले गर्नुपर्ने काम पनि धेरै छ । म संघको सचिव हुँ, मैले गर्नुपर्ने काम पनि धेरै छन् । तर कुनैपनि व्यक्ति त्यो कमिटिमा बसेर चिनिनुपर्छ । चिनाउने खालको यथेष्ट काम गर्नुपर्छ ।
अब आउने भलिबलका पदाधिकारीले केन्द्र, प्रदेश, जिल्ला, पालिकामा आउने हो भने अरु कमिटीमा बस्न हुन्न । अरु क्षेत्रमा बस्न हुन्न । एउटैमा मात्र प्रतिबद्ध हुनुपर्छ । त्यो भएको खण्डमा समय मिल्छ, काम गर्नमा ध्यान जान्छ । केही काम नआएपनि सिक्न खोजोस् । यस्तो खालको पदाधिकारी आएमा पक्कैपनि भलिबलमा राम्रो हुन्छ ।
एकजना मान्छे ७–८ वटा कमिटीमा बस्छ । भलिबलको कार्यक्रममा आयो भने अर्काे कमिटिको कुरा हुन्छ । काममा फोकस हुँदैन । भलिबलमा आउनेले त्यसलाई बढी समय दिएर काम गर्नुपर्छ । अनि मात्र विकास हुन्छ ।
भलिबलमा अरुलाई आकर्षित गर्नकालागि एकै ठाउँमा ५० वटा नेट टाँगेर सबैलाई खेल्न लगाउने, त्यहाँ सबैले रमाइलो गर्छन् । त्यस प्रकारको फेस्टिबलको आयोजना गर्ने, त्यसमा रेफ्रीले रेफ्रीका लागि, प्रशिक्षकले प्रशिक्षकका लागि, खेलाडी सबैले आफ्नो ठाउँमा गर्यो भने भलिबलमा काम गर्न गाह्रो छैन ।
जति बोल्न सजिलो छ, व्यवहारमा गर्न गाह्रो छ । संघमा आउने पदाधिकारी, रेफ्री, भलिबलमा केही गर्छु भन्ने झुकाव भएका मान्छेहरु आउनुपर्छ । त्यस्तो खालको व्यक्तिको आगमन भएमा धेरै थोरै भएपनि परिवर्तन आउछ ।
भलिबलको संरचनालाई कसरी सुधार गर्दै लैजानुपर्ला ?
भलिबलमा भएका कमीकमजोरी र सुधारको कुरा गरि साध्य छैन । सुधार गर्नुपर्ने कुराहरु धेरै छन् । त्यसमा सबैभन्दा पहिला यथेष्ट रुपमा ठाउँ–ठाउँमा एकेडेमीको धेरै आवश्यकता छ । प्रतियोगिता पनि व्यवस्थित तरिकाले गर्नुपर्छ । खेलाडी घाइते नहुने, पाउने सुविधा सबै कुरालाई व्यवस्थित गर्नुपर्छ ।
संघले ठूला प्रतियोगितालाई पनि ध्यान दिने, फ्रेन्चाइज खेल आयोजना गर्ने हो भने खेलाडी प्रोत्साहित हुन्छन् । यस्ता प्रतियोगिता गर्न आवश्यक छ । अन्तराष्ट्रिय क्षेत्रमा खेलाडीलाई ट्रेनिङ गर्न, प्रतियोगिता खेल्न सम्बन्ध सुधार गर्नुपर्छ ।
नेपालमा भएको छ, तर अझै गर्नुपर्छ । हाम्रो टिम कहाँ छ भन्दा थाईल्याण्ड, भारत, जापानमा प्रशिक्षण, ट्रेनीङ, प्रतियोगिता खेलिरहेका छन् भनेर भन्न सक्छु पर्छ । त्यसक लागि संघले सक्रिय भएर काम गर्नुपर्छ ।
नेपालको सन्दर्भमा बजेट छैन, बजेट खोजेर काम गरिन्छ । बढी कुरा गर्ने नेपालीको बानी हो तर कुरा पनि गर्नुपर्छ र साथसाथै काम पनि गर्नुपर्छ ।
नेपालमा भलिबलको बजार कस्तो देख्नुहुन्छ ?
नेपालको राष्ट्रिय खेल भलिबल भइसकेपछि धेरै काम गरिनुपर्छ । राष्ट्रिय खेल भएको नाताले पनि अरु खेलको तुलनामा यसको बजार व्यापक बनाउनुपर्छ । प्रतियोगिता व्यापक, जनशक्ति तयार र आर्थिक हिसाबले पनि एकदमै सुदृढ हुनुपर्छ ।
भलिबल संघमा, जिल्लामा बजेटका लागि सम्बन्धित निकायबाट कदम चालिनुपर्छ । भलिबल संघको सदस्यता सबै ठाउँमा वितरण गर्नपर्छ । यस्तो काम गरेमा संघमा आर्थिक पनि जम्मा हुन्छ । भलिबलमा काम गर्न सक्यो भने आर्थिक कारोबार पनि छ ।
बजार छ तर गर्न सकेन भने केही पनि छैन । साथै यसमा लागेका पूर्व खेलाडी, व्यक्तित्वलाई पनि भलिबलको विकासमा आबद्ध हुन अनुरोध गर्छु । उहाँहरुको सहयोगले भलिबल विकासमा महत्वपूर्ण सहयोग पुग्छ ।