काठमाडौं । कुनै समय पूर्वमा फुटबलको क्रेज'' निकै थियो । राष्ट्रिय फुटबल टोलीमा पनि पूर्वकै खेलाडीको दबदबा थियो । खेल भनेकै फुटबल सम्झिन्थे । विराटनगरमा जन्मिएका पार्थसारथी सेन गुप्ता भने बडिबिल्डिङमा लागे ।
१३ वर्षको हुँदा दाह्रा सिंहको ज्यानले लोभ्याएपछि उनको मन अन्यन्त्र गएन । तर, शारिरिक व्यायामका लागि चाहिने एउटा पनि सामान उनीसँग थिएन ।
‘जहाँ इच्छा त्यहाँ उपाय’ भनेझै उनले एउटा जुक्ति लगाए । गाउँघर तिर पाइने जाँतो र फलामको डन्डीले शारिरिक व्यायाम गर्ने सोच बनाए । छिमेकीसँग मागेर जाँतो र फलामको डन्डी जुटाए । त्यसपछि उनी दिनहुँ त्यसलाई उठाउँदै व्यायाम गर्न थाले । तर, उनलाई यो पनि खेल हुन्छ भन्ने थाहा थिएन।
रहरले शरीर बलियो बनाउन लागेका उनको सपना भने डाक्टर बन्नु थियो । पुर्खौली व्यवसाय औषधि पसल भएकाले परिवारको सपना समेत उनलाई डाक्टर बनाउनु थियो ।
आफ्नो सपना साकार पार्न एसएलसीपछि विज्ञान विषय लिएर पढाई सुरु गरे । राम्रो नतिजामा पास गरे । पढाईलाई निरन्तरता दिँदै बीएसीमा भर्ना भए ।
वि.सं २०३० तिर पूर्वी सहरमा शरीर बलियो बनाउने र प्रतिस्पर्धा गर्नुपर्छ भन्ने भावनाको विकास भईसकेको थियो । पूर्वमा बलिया व्यक्तिहरुको जमात ठुलै बनिसकेको थियो । उनले पनि क्षेत्रीयस्तरका प्रतियोगितामा भाग लिने सुरसार गरे ।
बीएससी पढ्दै गर्दा उनले बडिबिल्डिङका क्षेत्रीय स्तरका प्रतियोगितामा भाग लिए । उनी बलिया व्यक्तिका रूपमा परिचित भए । त्यसपछि उनको मन खेलकुदतर्फ मोडियो र उनलाई खेलकुदले समात्यो ।
भारोत्तोलन संघका जन्मदाता
काठमाडौं आउनु अघि उनले पूर्वका विभिन्न बडिबिल्डिङ प्रतियोगितामा प्रतिस्पर्धा गरिसकेका थिए । उनी धेरै पटक बडिबिल्डिङमा च्याम्पियन समेत बने । त्यहि समय काठमाडौंमा पहिलो संस्करणको राष्ट्रिय कबड्डी प्रतियोगिता आयोजना हुने भयो ।
बलिया व्यक्तिले कबड्डी खेल्छन् भनेपछि उनको टिम पनि भाग लिन काठमाडौं पुग्यो । उनको टिमको काठमाडौं आउनुको अर्को उद्देश्य थियो संघ दर्ता गर्नु । तर, संघ दर्ता गर्न त्यति सहज भने थिएन ।
‘हामीले विराटनगर, धरान, काठमाडौंलगायत क्षेत्रमा बडिबिल्डिङ प्रतियोगिता गर्दै आएका थियौं,’ उनले भने, ‘हामीले हरेक वर्ष बडिबिल्डिङ प्रतियोगिता गरिरहने भएकाले यसलाई संस्थागत गर्नुपर्छ भन्ने लाग्यो । यसका लागि चार–पाँच वर्ष धायौं तर भएन ।’
यसै क्रममा राखेपको सदस्य–सचिवमा शरदचन्द्र शाह आइसकेका थिए । यही समूहले उनलाई पनि बडिबिल्डिङ संघ दर्ताका लागि पहलको आग्रह गरे । तर, यसपटक पनि संघ दर्ता हुन सकेन । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीमा बडिबिल्डिङ संघ नभएको भन्दै सदस्य–सचिव शाहले राखेपमा दर्ता गर्न नमिल्ने बताए ।
तत्कालीन सरकारले जनताको जिउ बलियो बनाउने खेललाई मान्यता नदिँदा उनले किशोरावस्थामै गृहनगर विराटनगरमा जिमखाना खोले । पूर्वमा उनले शारीरिक सुगठनको लहर ल्याए । विराटनगरमा आफैंले आयोजना गरेको प्रतियोगितामार्फत 'स्ट्रोङ्गेस्ट म्यान अफ विराटनगर’ घोषित गुप्ता तत्कालिन अवस्थाका चुनौतीबाट पछि हट्ने मान्छे थिएनन् ।
उनीसहितको टिमको बारम्बारको पहलपछि सदस्य सचिव शाहले बडिबिल्डिङलाई नभई भारोत्तोलन ओलम्पिकमा सहभागी खेल रहेछ भन्दै मान्यता दिए । २०३६ मा उनको प्रयास सफल भयो ।
उनले त्यो पल सम्झँदै भने, ‘बडिबिल्डिङ भनेर पहल गरेका थियौ । ओलम्पिकमा सहभागि खेल नभएपछि त्यसै खेलसँग मिल्दोजुल्दो भन्दै भारोत्तोलन संघलाई मान्यता दिए । हामी त्यसैमा पनि खुसी भएँ । त्यसले एक हदसम्म सफल भएको अनुभूति दियो ।’
पहिलो खेलमै स्वर्ण
संघ दर्तालगत्तै पहिलो राष्ट्रिय भारोत्तोलन प्रतियोगिता आयोजना गर्ने तयारी भयो । पहिलो राष्ट्रिय प्रतियोगितामा ११ अञ्चलबाट २९ खेलाडीले ६ तौल समूहमा प्रतिस्पर्धा गरेका थिए । जसमा ७५ केजी तौल समूहमा पार्थसारथी सेन गुप्ताले प्रतिस्पर्धा गरे । उनले ३०० पाउण्ड भार वहन गर्दै स्वर्ण जिते ।
अर्को वर्ष नेपालगन्जमा प्रतियोगिता भयो । उनले राम्रो नतिजा हात पारे । त्यसपछि सन् १९८० मा भएको मस्को ओलम्पिकमा पहिलो पटक नेपाली भारोत्तोलन खेलाडी सहभागी गराउने निर्णय भयो । त्यसका लागि तीन खेलाडीको सूचीमा तयार भयो । तर, उनी त्यो सूचीमा अटाउन सकेनन् ।
‘संघ दर्ता भएपछि नेपाली भारत्तोलकहरुले पहिलो पटक ओलम्पिकमा सहभागिता जनाउने अवसर पाएका थिए । मस्को ओलम्पिकका लागि खेलाडी छनोट भयो । तर, छनोटमा राम्रो गर्दा गर्दै पनि मलाई त्यो सूचीमा राखिएन,’ उनले भने, ‘आफ्नो भन्दा तल्लो स्तरका खेलाडीलाई ओलम्पिक पठाउने निर्णयले म एकदमै निराश भएँ । यतिसम्म कि खेलै छोड्नेसम्मको निर्णयमा पुगें ।’
ओलम्पिकको छनोटका लागि काठमाडौं पुगेकामा उनी आफुलाई उक्त टोलीमा नराखेपछि विचल्लित जस्तै भए । उनी काठमाडौंका गल्लिमा भौतारिए । उनले आफ्नो निराशा सुनाए, ‘ओलम्पिक छनोटमा पर्नु पर्ने म नपरेपछि निकै दुखी भए । दुख लिएर के घर जानु भनेर म घर गइन । एक साता जति काठमाडौंमै भौतारिए । त्यससमय मलाई धेरैले सम्झाए र म घर फर्किए ।’
सफल प्रशिक्षक
छनोटमा भोगेको पीडाका कारण उनले खेल्न छोडे । तर, भारोत्तोलनप्रतिको माया भने मारेका थिएनन् । उनीमा भारोत्तोलन प्रतिको माया फेरि पलायो । बिस्तारै भारोत्तोलनको विकास क्रम सुरु भइरहेको थियो । दक्ष प्रशिक्षक कोही थिएन । प्रशिक्षक बन्ने पालो उनकै काँधमा आयो । भारतको पटिया पुगे । त्यहाँबाट प्रशिक्षकको १० महिने कोर्स गरे । कोर्स सफलताका पूर्वक पूरा गरेर उनी नेपाल फर्किए ।
पहिलो प्रशिक्षकको रूपमा परिषदमा आबद्ध भएपछि उनले यसको प्राविधिक जानकारी पनि लिए । आफूसँगैका सहकर्मी पनि उनका चेला बने । उनले सन् १९८०–८१ तिर भारतको दिल्लीमा भएको एसियाली खेलकुदमा भारोत्तोलन टिम लिएर गए । त्यहीबाट उनको प्रशिक्षक यात्रा सुरु भयो ।
भारोत्तोलनप्रतिको निरन्तर साधनाले उनलाई नेपालकै सफल प्रशिक्षक बनायो । उनको नेतृत्वमा नेपाली भारोत्तोलनले १९९२ यताका ६ वटा दक्षिण एसियाली खेलकुद (साफ), दुई एसियाली च्याम्पियनसिप, तीन एसियाली खेलकुद र दुई ओलम्पिकसम्म भाग लिएको छ । प्रशिक्षकको रुपमा नेपाललाई सबैभन्दा बढी पदक दिलाउने कीर्तिमान उनकै हो । उनको प्रशिक्षणमा नेपालले दक्षिण एसियाली खेलकुदमा १ सय ७ पदक जितेको छ ।
‘मेरो प्रशिक्षणमा नेपाली भारोत्तोलकले सयभन्दा बढी पदक जितेको छ । जुन एकै खेलमा नेपाललाई सर्वाधिक पदक दिलाउने म पहिलो प्रशिक्षक हुँ । भलै मैले स्वर्ण पदक दिलाउन सकिन होला । तर, मैले प्रशिक्षण छोडिन्जेलसम्म कुनै पनि प्रशिक्षकले यति पदक दिलाएका थिएनन् । पछिल्लो समय पनि अरु प्रशिक्षकले यत्रो पदक दिलाएको छ जस्तो लाग्दैन,’ उनले भने ।
उनकै पहलमा नेपाली महिलाले पनि भार उठाउने काम गरे । अन्तराष्ट्रिय प्रतियोगितामा समेत सहभागिता जनाए । ‘सुरुमा कतिले महिला पनि भारोत्तोलनमा आउँछन् र भनेर सोधे,’ उनले गर्वकासाथ सुनाए, ‘अहिले महिलाले नै राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा राम्रो गरिरहेका छन् । १३ औं सागमा नै नेपाललाई स्वर्ण पदक दिलाए ।’
एसियन गोल्ड अवार्डबाट सम्मान
भारोत्तोलनका वरिष्ठ प्रशिक्षक पार्थसारथी ‘एसियन गोल्ड अवार्ड’ बाट सम्मानित भएका थिए । एसियामै भारोत्तोलन खेलको विकासमा योगदान पुर्याएबापत एसियाली भारोत्तोलन संघले ५७ वर्षको उमेरमा गुप्तालाई अवार्डबाट सम्मान गरिएको थियो ।
भारोत्तोलनमा प्रदान गरिने उक्त अवार्ड एसियाकै सबैभन्दा ठूलो अवार्डका रूपमा मानिन्छ । सिनियर एसियाली भारोत्तोलन च्याम्पियनसिपका दौरान एसियाली भारोत्तोलन संघका अध्यक्ष मोहम्मद अल्माना तथा महासचिव अलि मुरादीले गुप्तलाई उक्त अवार्ड प्रदान गरेका थिए । एसियास्तरको उक्त भारोत्तोलन च्याम्पियनसिपमा गुप्तले जुरी अध्यक्षको भूमिका समेत निर्वाह गरेका थिए ।
२०६५ सालमा नेपाल खेलकुद पत्रकार मञ्चले उनको कदर गर्यो । २५ वर्षभन्दा बढी समय भारोत्तोलन विकासमा खर्चिदा गुप्ता लाफइटाइम अचिभमेन्ट अवार्डको हकदार बने । जीवनको उत्तरार्दधमा मिलेको यो अवार्डबाट उनी निकै खुसी छन् । यद्यपि उनले अवार्ड सहकर्मी प्रशिक्षक र खेलाडीलाई बाँड्न चाहे ।
‘खेल विकास एक्लो प्रयासमा सम्भव छैन । भारोत्तोलनका खेलाडी र प्रशिक्षक सबैको सहयोगले यो अवार्डको हकदार भएको हुँ,’ उनले भने । मञ्चले पहिलो पटक २०५४ सालमा पुरस्कार दिँदा उनी उत्कृष्ट प्रशिक्षकको विधामा सम्मानित भएका थिए । उनले खुसी साटे, ‘पत्रका मञ्चले गर्दा मेरो सही मूल्याङ्कन भएको महसुस गरेको छु ।’
एउटा खेलको सिंगो इतिहास बोकेका उनले अहिलेसम्म सरकारबाट भने खासै कुनै उल्लेखनीय सम्मान नपाएको बताए । खेलकुदमा बाहेक अन्य कुनै सपना नदेखेका उनले सरकारबाट सम्मान नपाउँनु दुखद भएको बताए । सरकारी स्तरबाट कुनै स्याबासी नपाए पनि खेलकुदप्रति आफ्नो लगावमा कमी नआएको उनले बताए । उनले भने, ‘भारोत्तोलन बिर्सन सक्दिनँ ।’