काठमाडौं । राष्ट्रिय महिला भलिबल प्रतियोगिता असोज अन्तिम साता बाग्लुङमा हुने भएको छ । नेपाल भलिबल संघले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै २२ औं संस्करणको राष्ट्रिय महिला भलिबल बाग्लुङको गल्कोटमा हुने जनाएको हो ।
बाग्लुङ जिल्ला भलिबल संघको ब्यबस्थापन र गल्कोट नगरपालिकाको सहयोगमा प्रतियोगिता असोज २३ देखि २७ सम्म हुनेछ । प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टोली गरि १० टिमको को सहभागिता रहनेछ ।
प्रतियोगिताको विजेताले ५० हजार प्राप्त गर्नेछन् । यस्तै दोस्रोले ३० र तेस्रोले २० हजार पाउने छन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले १० हजार पाउनेछन् । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने स्पाइकर,सरभर, लिबेरो, सेटर र ब्लकरलाई समान ५/५ हजार प्रदान गरिनेछ ।
प्रतियोगिताको लागि नेपाल भलिबल संघले शुक्रबार नै बाग्लुङलाई ५० हजार नगदसहित ६ थान बल र एक थान नेट प्रदान गरेको छ । यो प्रतियोगितालाई संघले आफ्नो वार्षिक कार्यतालिका अनुसार हुन लागेको समेत बताएको छ ।