काठमाडौं । विभागीय टिम एपीएफ क्लबले प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।
।
मुलपानी क्रिकेट मैदानमा बिहीबार गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गर्दै एपीएफले लगातार दोस्रो जित निकालेको हो ।
गण्डकीले दिएको १ सय ७ रनको लक्ष्य एपीएफले १७ ओभर ३ बलमा ४ विकेट गुमाएर पुरा गर्यो ।
एपीएफको जितमा आसिफ शेखले ७८ रनको अर्धशतकीय इनिङ्स खेले ।
यस्तै सुमित महर्जनले १८ रन बनाए । शरद भेषवाकर ५ रनमा अविजित रहे ।
गण्डकीका चन्द्र पौडेल र विशाल पौडेलले २/२ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको गण्डकीले ४६ ओभरमा अलआउट हुँदै १ सय ६ रन बनाएको थियो ।
गण्डकीका लागि समिर कँडेलले सर्वाधिक ३६ रन बनाए । यस्तै बिष्णु पाण्डे र दिपेश खत्रीले १५/१५ रन बनाए ।
दिनेश बुढामगरले १२ रन बनाए ।
एपीएफका लागि कमल ऐरीले ४ विकेट लिए । अविनास बोहोरा र शरद भेषवाकरले २/२ विकेट लिए ।
जितसंगै समूह 'ए' को एपीएफले २ खेलमा ४ अंक जोडेको छ ।
यस अघि एपीएफले पहिलो खेलमा प्रदेश-१ लाई हराएको थियो ।
एपीएफ तालिकाको दोस्रो स्थानमा रहेको छ ।
गण्डकीको यो तेस्रो हार हो ।
गण्डकी ४ खेलमा २ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।