काठमाडौं । विभागीय टिम नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बुधबार भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गर्दै पुलिसले पहिलो जित निकालेको हो ।
सुदूरपश्चिमले दिएको १ सय ११ रनको समान्य लक्ष्य पुलिसले १७ ओभरमा मात्र १ विकेट गुमाएर पुरा गर्यो ।
पुलिसको जितमा सुनिल धमलाले ५३ रनको अर्धशतकीय इनिङ्स खेले ।
यस्तै कुशल भुर्तेलले अविजित रहदै ५१ रनको अर्धशतकीय इनिङ्स खेले ।
पहिलो विकेटका लागि सुनिल र कुशलले ९७ रनको साझेदारी गरेका थिए ।
अमित श्रेष्ठ १ रनमा अविजित रहे ।
सुदूरपश्चिमका हेमन्त धामीले १ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम ३३ ओभर १ बलमा अलआउट हुँदै १ सय १० बनाएको थियो ।
सुदूरपश्चिमका लागि खडक बोहोराले सर्वाधिक ४० रन बनाए । यस्तै सन्जु धामीले ३५ रन जोडे ।
अरुण ऐरी १३ रनमा आउट हुँदा अर्जुन साउदले १० रन बनाए ।
पुलिसका दिपेन्द्र सिंह ऐरी र सागर ढकालले ४/४ विकेट लिए ।
जितसंगै पुलिसले २ खेलमा २ अंक जोडेको छ ।
समूह 'बी' मा रहेको पुलिस पहिलो खेलमा बागमती प्रदेशसँग पराजित भएको थियो ।
सुदूरपश्चिमको यो लगातार दोस्रो हार हो ।
सुदूरपश्चिम पनि पहिलो खेलमा बागमतीसँग नै पराजित भएको थियो ।